July 10, 2026

फागुन ३, तुलसीपुर, दाङ
कृष्ण अधिकारी
दाङको शैक्षिक क्षेत्रमा स्थापित शैक्षिक संस्था डिभाइन टेम्पल एकेडेमी ले आफ्नो १७औँ वार्षिकोत्सव भव्य, व्यवस्थित र सन्देशमूलक कार्यक्रमका साथ सम्पन्न गरेको छ।

तुलसीपुर ६ गोलौरामा आयोजित समारोहले विद्यालयको १७ वर्षे शैक्षिक यात्रालाई मात्र स्मरण गराएन, आगामी दिशातर्फको स्पष्ट मार्गचित्र पनि प्रस्तुत गरेको छ।
डिभाइन एजुकेशन फाउण्डेशन का सिइओ तथा विद्यालयका प्रधानाध्यापक भोजराज न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शिक्षा विकास समन्वय एकाइ दाङका प्रमुख देवमनी चौधरी प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो।
प्रमुख अतिथि चौधरीले नेपालको शिक्षा प्रणालीलाई समयअनुकूल, व्यवहारिक र प्रविधिमैत्री बनाउनुपर्ने आवश्यकता औंल्याउँदै शिक्षालाई केवल प्रमाणपत्रमा सीमित नराखी जीवनोपयोगी सीप, नैतिक मूल्य र जिम्मेवार नागरिक उत्पादन गर्ने माध्यमका रूपमा रूपान्तरण गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो।

अबको शिक्षा रोजगारी, उद्यमशीलता र चरित्र निर्माणसँग प्रत्यक्ष जोडिनुपर्छ, उहाँले भन्नुभयो।
अध्यक्ष न्यौपानेले १७ वर्षको यात्रामा विद्यालयले गुणस्तरीय शिक्षासँगै अनुशासन, संस्कार र सीपमूलक शिक्षालाई प्राथमिकतामा राख्दै आएको उल्लेख गर्नुभयो।

आगामी दिनमा डिजिटल प्रविधिमा आधारित शिक्षण प्रणाली सुदृढ गर्ने, अतिरिक्त क्रियाकलापलाई अझ विस्तार गर्ने तथा विद्यार्थीमैत्री, प्रतिस्पर्धात्मक र सुरक्षित वातावरण निर्माणमा थप प्रतिबद्ध रहने उहाँको भनाइ थियो।
समारोहका अवसरमा विद्यालयमा लामो समयदेखि समर्पित सेवा पुर्‍याउँदै आएका शिक्षिका सीता केसी र शिक्षक अशोक रेग्मीलाई विशेष सम्मान गरिएको थियो।

साथै, शिक्षा क्षेत्रको प्रवर्द्धनमा सञ्चार माध्यमको भूमिकालाई कदर गर्दै रेडियो हाम्रो पहुँच का समाचार प्रमुख जीतसागर जी.एम.लाई सम्मानपत्र र खादासहित अभिनन्दन गरिएको थियो।
वार्षिकोत्सव कार्यक्रममा विद्यार्थीहरूले नृत्य, गीत, नाटक तथा विविध सांस्कृतिक प्रस्तुतिमार्फत आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए। विशेष आकर्षणका रूपमा चर्चित लोक तथा दोहोरी गायक शक्ति चन्द को सांगीतिक प्रस्तुति रहेको थियो।

उहाँका लोकप्रिय गीतहरूमा विद्यार्थी, अभिभावक तथा शिक्षकहरू उत्साहका साथ झुमेका थिए।
कार्यक्रमको सञ्चालन शिक्षकद्वय पूर्ण केसी ‘मूस्कान’ र माधवा शर्मा आचार्यले गर्नुभएको थियो।
शिक्षामा गुणस्तर, संस्कार र प्रविधिको समन्वय गर्दै अघि बढिरहेको डिभाइन टेम्पल एकेडेमीको यो १७औँ वार्षिकोत्सवले दाङको शैक्षिक क्षेत्रलाई सकारात्मक सन्देश दिएको सहभागीहरूको प्रतिक्रिया थियो।

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *