July 10, 2026

दाङ सल्यान जोड्ने रणनीतिक महत्व बोकेको राप्ती राजमार्ग अन्तर्गत अमिलिया तुलसीपुर सल्यान रुकुम खण्डको सडक विस्तार तथा नयाँ मापदण्ड निर्धारण विषयमा कपुरकोट क्षेत्रमा आज स्थानीय बासिन्दा, जनप्रतिनिधि तथा सरोकारवालाबीच उच्चस्तरीय समन्वय तथा छलफल बैठक सम्पन्न भएको छ।
सडक विस्तारका क्रममा घर जग्गा, व्यवसाय र भौतिक संरचनामा असर पर्ने सम्भावनालाई ध्यानमा राख्दै सहभागीहरूले विकाससँगै जनताको सम्पत्ति सुरक्षित हुने गरी व्यवहारिक, वैज्ञानिक र जनमैत्री मापदण्ड तय गर्न सम्बन्धित निकायलाई आग्रह गरेका छन्।

छलफलमा छत्रेश्वरी गाउँपालिका का अध्यक्ष ओज बहादुर बुढाथोकी, उपाध्यक्ष प्रविना कुमारी श्रेष्ठ तथा बागचौर नगरपालिका का नगरप्रमुख जनकराज गौतम सहभागी रहेका थिए।
त्यसैगरी सल्यान जिल्लाका संघीय प्रतिनिधिसभा सदस्य पदका उम्मेदवारहरू नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) (एमाले) का गुलाबजंग शाह र नेपाली कांग्रेस का केशबहादुर बिष्टसँग पनि सडक मापदण्ड सम्बन्धी विषयमा सामान्य छलफल गरिएको बताइएको छ।
कपुरकोट बजारका स्थानीय मधुसुदन गिरी, प्रेमकुमार आचार्य, रामप्रसाद शर्मा, नन्दराम खत्री, रूपक बुढा, दुर्गागिरी, एकराज ओली, टिकाराम केसी, डन्डीराम बुढा, झलक ओली, धनराज बोहरा लगायतले आ आफ्ना धारणा राख्दै विकास आवश्यक भए पनि जनताको उठिबास हुने गरी मापदण्ड लागू गर्न नहुने स्पष्ट धारणा व्यक्त गरेका छन्।
कार्यक्रम राप्ती राजमार्ग तुलसीपुर क्षेत्र सरोकार मञ्चका अध्यक्ष नवराज लामिछानेको उपस्थितिमा सम्पन्न भएको हो।
सहभागीहरूले विकास विरोधी नभएको स्पष्ट पार्दै, “सडक विस्तार जनताको हितका लागि हो भने जनताको घर जग्गा र व्यवसाय जोगिने सुनिश्चितता अनिवार्य हुनुपर्छ भन्ने सामूहिक निष्कर्ष निकालेका छन्।

साथै, क्षतिपूर्ति, पुनर्स्थापना तथा स्पष्ट मापदण्डसहित मात्रै कार्यान्वयन अगाडि बढाउन सम्बन्धित निकायलाई जोडदार आग्रह गरिएको छ।

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *