September 8, 2026

कृष्ण अधिकारी तुलसीपुर । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) का केन्द्रीय महासचिव प्रकाशचन्द्र खड्काले संगठनभित्र केही असमझदारी देखिँदैमा संस्था कमजोर भएको निष्कर्ष निकाल्न नहुने बताउनुभएको छ।
दाङमा आइतबार सुरु भएको नेसनल प्याब्सनको ७औँ जिल्ला अधिवेशन उद्घाटन समारोहमा बोल्दै खड्काले निजी शिक्षालयमा आबद्ध व्यक्तिहरूको संगठनप्रतिको सक्रियता फरक फरक रहेको बताउनुभयो। उहाँका अनुसार कतिपय सदस्य समस्या समाधानका लागि प्रत्यक्ष रूपमा लाग्ने, केहीले संगठनबाटै सबै समाधान हुने अपेक्षा गर्ने र केही बाहिर बसेर गतिविधि नियाल्ने प्रवृत्ति देखिन्छ।


उहाँले संगठनलाई प्रभावकारी बनाउन सबै सदस्यले आफ्नो जिम्मेवारीअनुसार सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो। कुनै पनि सदस्य जिम्मेवारीबाट टाढा रहन नहुने उहाँको भनाइ थियो।
महासचिव खड्काले शिक्षा र स्वास्थ्यलाई राज्यले उच्च प्राथमिकतामा राख्नुपर्ने धारणा राख्दै लामो समयदेखि प्रतीक्षामा रहेको शिक्षा ऐन छिटो ल्याउनुपर्ने बताउनुभयो।

साथै, पाठ्यक्रममा रहेका सुधार गर्नुपर्ने विषयलाई सम्बोधन गर्दै शिक्षाको गुणस्तर अभिवृद्धितर्फ अघि बढ्नुपर्ने उहाँले उल्लेख गर्नुभयो।
कार्यक्रममा नेसनल प्याब्सन दाङका अध्यक्ष निर्मल न्यौपानेले निजी तथा सामुदायिक विद्यालयप्रति राज्यको व्यवहार समान नभएको गुनासो गर्नुभयो। निजी विद्यालयहरूले शिक्षा क्षेत्रमा ठूलो लगानी गरिरहेको उल्लेख गर्दै उहाँले करिब ६ अर्ब रुपैयाँको लगानी भएको दाबी गर्नुभयो। राज्यले निजी शिक्षाको योगदानलाई उचित रूपमा मूल्यांकन गर्नुपर्ने उहाँको माग थियो।
तुलसीपुर उपमहानगरपालिकाका नगरप्रवक्ता माधव वलीले समाजहितका उद्देश्य बोकेको संगठनभित्रै एकता कमजोर भए लक्ष्य प्राप्तिमा कठिनाइ हुने बताउनुभयो।

उहाँले संगठनलाई एकताबद्ध र व्यवस्थित ढंगले अघि बढाउनुपर्नेमा जोड दिनुभयो। शिक्षामा निजी क्षेत्रको योगदान महत्वपूर्ण रहेको भन्दै त्यसलाई राज्यले समेत सम्मान गर्नुपर्ने उहाँको भनाइ थियो।
अधिवेशन उद्घाटन कार्यक्रममा जिल्ला शिक्षा विकास तथा समन्वय इकाइ दाङका प्रमुख धनबहादुर केसी, तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विनिल केसी, अडिटर्स एसोसिएसन दाङका अध्यक्ष ललितबहादुर घर्ती, युवा व्यवसायी बिमल रिजाल र शैक्षिक अभियन्ता हिमालबाबु डाँगीलगायतले शिक्षा क्षेत्रमा निजी क्षेत्रको भूमिका, संगठनात्मक एकता र शैक्षिक सुधारका विषयमा धारणा राख्नुभयो।
सो अवसरमा विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तिहरूलाई सम्मानसमेत गरिएको थियो। सञ्चार क्षेत्रबाट पत्रकार आशिष् केसी, संगठनलाई निरन्तर सहयोग गर्दै आउनुभएका शिक्षक मेघराज घिमिरे तथा व्यावसायिक सहकार्यमा योगदान पुर्‍याउनुभएका चुडामणि अर्याल सम्मानित हुनुभयो।
जिल्ला अध्यक्ष भोजराज न्यौपानेको विषय प्रवेश तथा स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन जिल्ला सचिव हरिप्रसाद भण्डारीले गर्नुभएको थियो।
यसैबीच, अधिवेशनको बन्दसत्रबाट नेसनल प्याब्सन दाङको नयाँ जिल्ला कार्यसमिति चयन हुने अध्यक्ष न्यौपानेले जानकारी दिनुभएको छ।

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *