तुलसीपुर २ फागुन कृष्ण अधिकारी
दाङको तुलसीपुर उपमहानगरपालिका ६ स्थित आइडियल इङ्लिस बोर्डिङ स्कुलले आफ्नो २६औँ वार्षिकोत्सव तथा अभिभावक भेला भव्य र सन्देशमूलक कार्यक्रमका साथ सम्पन्न गरेको छ।
विद्यालयका प्रधानाध्यापक रघु केसीको अध्यक्षता तथा शिक्षा तथा समन्वय इकाई दाङका प्रमुख देवमणी चौधरीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि चौधरीले समयअनुसारको स्मार्ट, प्रविधिमैत्री र विद्यार्थीकेन्द्रित शिक्षण प्रणाली आजको अपरिहार्य आवश्यकता भएको बताएका छन्।

उनले परम्परागत शिक्षण पद्धतिलाई सुधार गर्दै व्यवहारिक, सिर्जनशील र परिणाममुखी शिक्षण विधि अवलम्बन गर्नुपर्नेमा जोड दिए।
विद्यालय सरकारी होस् वा संस्थागत, पाठ्यक्रम एउटै हुन्छ, फरक शिक्षण विधि र प्रस्तुतीकरणमा मात्र हुन्छ उनले भने।
गुणस्तरीय शिक्षा सुनिश्चित गर्न शिक्षकको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै उनले प्रविधिको प्रयोग र व्यवहारिक ज्ञानमार्फत सिकाइ प्रक्रियालाई प्रभावकारी बनाउन आग्रह गरे।
कार्यक्रममा विद्यार्थीहरूले पछिल्लो समय उच्च शिक्षाको नाममा बढ्दो विदेश पलायनले पारिवारिक सम्बन्धमा पारेको असरलाई नाटकमार्फत मार्मिक ढंगले प्रस्तुत गरेका थिए।

नाटकमा विदेशिने क्रम तीव्र बन्दै जाँदा अभिभावक एक्लिँदै जाने, पारिवारिक सम्बन्ध कमजोर हुँदै जाने तथा संस्कार र अभिभावकको महत्व ओझेलमा पर्दै गएको यथार्थ चित्रण गरिएको थियो।
उक्त प्रस्तुति अभिभावकका लागि मनोरञ्जन मात्र नभई सामाजिक सन्देश दिने खालको रहेको थियो।
त्यसैगरी कार्यक्रममा विभिन्न जातजाति तथा समुदायका कला, संस्कृति र परम्परा झल्किने नृत्य तथा सांस्कृतिक झाँकीहरू प्रस्तुत गरिएको थियो।
विद्यार्थीहरूले मौलिक पहिचानसहित सामाजिक सद्भाव र संस्कृति संरक्षणको सन्देश प्रवाह गरेका थिए।
वार्षिकोत्सवको अवसरमा कार्यालयमा उत्कृष्ट कार्यसम्पादन गर्ने एक जना सहचालक तथा उत्कृष्ट अध्यापन गर्ने तीन जना शिक्षक–शिक्षिकालाई सम्मान गरिएको विद्यालयले जनाएको छ।
विद्यालयमा हाल प्ले ग्रुपदेखि कक्षा १० सम्म अध्ययन सञ्चालन हुँदै आएको छ।
कार्यक्रम अभिभावक, शिक्षक, विद्यार्थी तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय उपस्थितिमा उत्साहपूर्वक सम्पन्न भएको थियो।
