July 8, 2026

दाङ, असार १७ । घोराहीस्थित ज्वालादल गण ब्यारेकका मेजर टेकराज जोशीले मिड वेस्ट प्वाइन्ट एकेडेमीका विद्यार्थीहरूलाई Improvised Explosive Device (IED) अर्थात् अस्थायी विस्फोटक उपकरण सम्बन्धी विशेष सुरक्षा सचेतना तथा व्यवहारिक प्रशिक्षण प्रदान गर्नुभएको छ।
विद्यार्थीहरूलाई आपतकालीन तथा जोखिमपूर्ण अवस्थाको सुरक्षित सामना गर्न सक्षम बनाउने उद्देश्यले आयोजित उक्त प्रशिक्षणमा IED को परिचय, यसबाट हुन सक्ने जोखिम, शंकास्पद वस्तु कसरी पहिचान गर्ने, त्यस्ता वस्तु भेटिएमा अपनाउनुपर्ने सावधानी, सुरक्षित दूरी कायम गर्ने विधि तथा सम्बन्धित सुरक्षा निकायलाई समयमै सूचना दिने प्रक्रियाबारे विस्तृत जानकारी दिइएको थियो।
प्रशिक्षणका क्रममा मेजर टेकराज जोशीले कुनै पनि शंकास्पद वस्तुलाई छुन, खोल्न वा सार्ने प्रयास नगर्न आग्रह गर्दै त्यस्तो अवस्था देखिएमा आफू सुरक्षित स्थानमा रही तत्काल प्रहरी, नेपाली सेना वा सम्बन्धित सुरक्षा निकायलाई जानकारी गराउनुपर्नेमा जोड दिनुभयो। उहाँले समयमै अपनाइने सतर्कताले सम्भावित मानवीय तथा भौतिक क्षति न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।
उहाँका अनुसार विद्यार्थीहरू भविष्यका जिम्मेवार नागरिक भएकाले विद्यालय तहदेखि नै सुरक्षा सम्बन्धी आधारभूत ज्ञान आवश्यक छ। यस्ता कार्यक्रमले विद्यार्थीहरूमा सुरक्षा सचेतना, अनुशासन, जिम्मेवारीबोध तथा विपद् व्यवस्थापनप्रतिको सकारात्मक सोच विकास गर्न सहयोग पुग्ने विश्वास उहाँले व्यक्त गर्नुभयो।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक वीरबहादुर घर्ती, विद्यालय व्यवस्थापन समिति अध्यक्ष सुबोध डाँगी, शिक्षक–शिक्षिका तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले यस्ता व्यवहारिक तथा जीवनोपयोगी प्रशिक्षणले पाठ्यपुस्तकको ज्ञानसँगै व्यावहारिक सीप विकासमा समेत महत्वपूर्ण योगदान पुर्‍याउने धारणा व्यक्त गरेका थिए।
विद्यालय प्रशासनले नेपाली सेनाको यस्तो पहललाई अत्यन्तै उपलब्धिमूलक र समयसापेक्ष भन्दै विद्यार्थीहरूमा सुरक्षा सचेतना, विपद् व्यवस्थापन क्षमता तथा जिम्मेवार नागरिकको भावना विकास गर्न प्रभावकारी हुने जनाएको छ।
नेपाली सेनाले पछिल्ला वर्षहरूमा विद्यालय, कलेज तथा समुदायस्तरमा सुरक्षा सचेतना, विपद् व्यवस्थापन, उद्धार तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ। यस्ता कार्यक्रमले सुरक्षा संस्कृतिको विकास गर्नुका साथै नागरिक र सुरक्षा निकायबीचको विश्वास र सहकार्यलाई थप सुदृढ बनाउँदै आएका छन्। मिड वेस्ट प्वाइन्ट एकेडेमीमा सम्पन्न यो प्रशिक्षण पनि सोही अभियानअन्तर्गतको एक महत्वपूर्ण पहलका रूपमा हेरिएको छ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *