दाङ, तुलसीपुर । १३औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा दाङस्थित आचार्यकुलम् दाङ्मा १०८ कुण्डीय देव महायज्ञ कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। “स्वस्थ वृद्धावस्थाका लागि योग” भन्ने मूल नारासहित आयोजित कार्यक्रममा एक हजारभन्दा बढी योग साधक, विद्यार्थी, अभिभावक तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमका प्रमुख अतिथि तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले योगलाई स्वस्थ, अनुशासित र समृद्ध समाज निर्माणको आधार भएको बताउँदै प्रत्येक नागरिकले योगलाई दैनिक जीवनमा अपनाउनुपर्नेमा जोड दिनुभयो। उहाँले योगले शारीरिक स्वास्थ्यसँगै मानसिक शान्ति, नैतिकता र सकारात्मक सोचको विकास गर्ने उल्लेख गर्नुभयो।
कार्यक्रमको अध्यक्षता पतञ्जलि योग समिति दाङका जिल्ला अध्यक्ष विनोद चौधरीले गर्नुभएको थियो। अध्यक्ष चौधरीले योग केवल शारीरिक अभ्यासमा सीमित नभई जीवनशैली परिवर्तन गर्ने सशक्त माध्यम भएको बताउँदै योग संस्कृतिको संरक्षण र विस्तारमा सबैको सहकार्य आवश्यक रहेको धारणा राख्नुभयो।
कार्यक्रममा पतञ्जलि योग समिति लुम्बिनी प्रदेशका महासचिव घनश्याम अधिकारी, लुम्बिनी प्रदेश सदस्य लक्ष्मी ओली, लुम्बिनी प्रदेश प्रशिक्षण विभाग प्रमुख तथा वरिष्ठ योग प्रशिक्षक, १०८ कुण्डीय देवयज्ञका वाचक तथा आचार्यकुलम् दाङका अध्यक्ष दीपक बस्याल साथै नेपाल संस्कृत विश्वविद्यालय उपप्राध्यापक किशोरचन्द्र गौतम विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। उहाँहरूले योग, वैदिक संस्कृति, आध्यात्मिक चेतना तथा स्वस्थ समाज निर्माणमा योगको भूमिकाबारे महत्वपूर्ण धारणा व्यक्त गर्नुभयो।
पतञ्जलि योग समिति, महिला पतञ्जलि योग समिति तथा युवा नेपाल समितिको संयुक्त आयोजनामा सम्पन्न उक्त कार्यक्रममा एक हजारभन्दा बढी सहभागीको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमको सहजीकरण पतञ्जलि योग समिति महिला महासचिव यमा गौतमले गर्नुभएको थियो। उहाँको प्रभावकारी प्रस्तुति, व्यवस्थित सञ्चालन र आकर्षक शैलीले कार्यक्रमलाई थप गरिमामय, अनुशासित तथा सफल बनाउन महत्वपूर्ण भूमिका खेलेको सहभागीहरूले बताएका थिए।
भव्य सहभागिता, सामूहिक योग अभ्यास, वैदिक मन्त्रोच्चारण तथा १०८ कुण्डीय देवयज्ञसहित सम्पन्न उक्त कार्यक्रमले योगप्रति जनचासो बढाउनुका साथै स्वस्थ, संस्कारित र अनुशासित समाज निर्माणका लागि महत्वपूर्ण सन्देश प्रवाह गरेको आयोजकले जनाएको छ।
