दाङको तुलसीपुर–९, शिवपुरस्थित श्री सत्य सुन्दरादेवी भगवती मन्दिरमा आजदेखि सुरु भएको ‘श्रीमद् देवी भागवत नवाह ज्ञानविज्ञान महापुराण’ वैदिक सनातन धर्मको प्रचार नभई, धर्मको आडमा भइरहेको एउटा जघन्य ‘धार्मिक अपराध’ र ‘पापको खेती’ सावित भएको छ। पितृ मोक्षको पवित्र नारा दिएर हजारौँ भक्तजनको भावनासँग खेलबाड गर्ने प्रमुख वाचक केशव आचार्य ‘सूर्यपाकी’ ले आफ्नै आमाको मृत्युको बरखी समेत पूरा नगरी व्यास आसनमा बसेर सनातन धर्मको मर्ममाथि निकृष्ट प्रहार गरेका छन्।
प्राप्त आधिकारिक प्रमाण अनुसार आचार्यकी आफ्नै माता सरस्वती खरालयको निधन २०८२ साउन ३ गते मात्र भएको थियो। सनातन हिन्दू धर्म र वैदिक शास्त्रको न्यूनतम मर्यादा अनुसार पनि आमा–बुबा बितेको एक वर्ष (बरखी) पूरा नभई छोराले कुनै पनि धार्मिक अनुष्ठान गर्नु, पूजाआजा गराउनु वा व्यास आसनमा बस्नु घोर ‘महापाप’ र ‘वर्जित’ कार्य हो। तर, आमा बितेको १० महिना पनि नपुग्दै, मातृ–शोक र पितृ संस्कारलाई पैतालामुनि कुल्चिएर केवल मोटो दक्षिणा र व्यापारिक लोभका लागि व्यास आसनमा आशिन हुनुले आचार्यको ‘पाखण्डी’ र ‘संस्कारहीन’ अनुहारलाई छताछुल्ल पारेको छ।
जसले आफ्नै जन्म दिने आमाको मृत्युको मर्यादा राख्न सकेन र संस्कारलाई पैसासँग साट्यो, त्यस्तो ‘संस्कारच्युत’ र ‘अधर्मी’ व्यक्तिले अरूका पितृलाई मोक्ष दिलाउँछ भन्नु भक्तजनको आस्थामाथिको खुल्ला अपमान र संगठित ठगी हो। आफ्नै घर अशुद्ध भएको व्यक्तिले व्यास आसनमा बसेर शास्त्र वाचन गर्नु भनेको हिन्दू धर्ममाथिको खुल्ला बलात्कार हो। यति ठूलो शास्त्रीय अपराध र पाखण्ड भइरहँदा मन्दिर समितिका अध्यक्ष मोहनलाल गैरे ले ‘थाहा छैन’ भन्दै देखाएको लाचारीले वाचक र आयोजकबीचको अपवित्र आर्थिक साँठगाँठलाई पुष्टि गर्दछ।
कटकुइयाँ चोकदेखि कलश यात्रा सुरु भइरहँदा श्रद्धालुहरूमा श्रद्धाभन्दा बढी आक्रोश र आशङ्का देखिनुले यस ‘धार्मिक व्यभिचार’ ले समग्र दाङकै शिर निहुराएको प्रस्ट हुन्छ। आफ्नै आमाको बरखी समेत खान नसक्ने लोभी पात्रबाट प्रवाहित हुने वाणीले पितृको मोक्ष होइन, बरु समाजमा विकृति र पाप मात्र फैलाउने निश्चित छ। स्थानीय बुद्धिजीवी र श्रद्धालुहरूले यो ‘धार्मिक डकैती’ र ‘पाखण्ड’ विरुद्ध कडा प्रतिकार गर्दै यस्ता अधर्मी वाचकलाई तुरुन्त बहिष्कार गर्न र मन्दिरको पवित्रता जोगाउन कडा चेतावनी दिएका छन्।
