July 9, 2026

कृष्ण अधिकारी, वैशाख १५, तुलसीपुर (दाङ) ।

​शिक्षालाई सेवामूलक बनाउनुपर्ने सरकारी नीति विपरीत निजी विद्यालयहरूले अभिभावकबाट चर्को शुल्क असुल गर्ने क्रम रोकिएको छैन। पछिल्लो समय दाङको तुलसीपुरस्थित एक मन्टेस्वरीले वार्षिक शुल्कको नाममा मोटो रकम असुल गरेपछि निजी विद्यालयको शुल्क नियमनमाथि गम्भीर प्रश्न उठेको छ।

​तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ मा सञ्चालित ‘डिभाइन मन्टेस्वरी’ (डिभाइन टेम्पल एकेडेमी) ले स-साना बालबालिकाको वार्षिक शुल्कको नाममा चर्को रकम असुलिरहेको प्रमाण सार्वजनिक भएको हो। प्राप्त एक बिल अनुसार, विद्यालयले ‘Annual Fee’ (वार्षिक शुल्क) शीर्षकमा मात्रै एकमुष्ट ९,००० (नौ हजार) रुपैयाँ लिएको देखिएको छ। यो शुल्क मासिक शिक्षण शुल्क, परीक्षा शुल्क र अन्य मसलन्द खर्च भन्दा छुट्टै हो।

​मन्टेस्वरी तहका बालबालिकाका लागि एउटै शीर्षकमा यति ठूलो रकम असुल गरिनु नियमसम्मत नभएको भन्दै स्थानीय अभिभावकहरूले चर्को विरोध गरेका छन्। “साधारण परिवारका लागि छोराछोरीलाई प्रारम्भिक शिक्षा दिनु पनि अब आकाशको फल जस्तै भएको छ,” एक अभिभावकले गुनासो गरे, “शिक्षा नियमावलीको धज्जी उडाउँदै विद्यालयहरूले अभिभावकलाई आर्थिक भार थपिरहेका छन्।”

​नेपालको शिक्षा नियमावलीले विद्यालयहरूले लिने शुल्क स्थानीय तहबाट स्वीकृत गराउनुपर्ने व्यवस्था गरेको छ। तर, तुलसीपुर क्षेत्रमा सञ्चालित अधिकांश मन्टेस्वरी र निजी विद्यालयहरूले मनपरी ढंगले शुल्क निर्धारण गरिरहेको आरोप लाग्दै आएको छ। स्थानीय सरकार र शिक्षा शाखाले प्रभावकारी अनुगमन नगर्दा विद्यालय सञ्चालकहरूको मनोबल बढेको र शिक्षा क्षेत्र व्यापारिक केन्द्रमा परिणत भएको शिक्षाविद्हरूको टिप्पणी छ।

​मन्टेस्वरी तहमा प्रदान गरिने सेवा र भौतिक सुविधाको तुलनामा वार्षिक ९ हजार शुल्क लिनु कुनै पनि आधारमा न्यायोचित नदेखिने भन्दै यस विषयमा सम्बन्धित निकायको तत्काल ध्यान जानुपर्ने माग उठेको छ। विद्यालय प्रशासनले कुन मापदण्डका आधारमा यति महँगो शुल्क निर्धारण गरेको हो भन्नेबारे स्थानीय अभिभावक र सरोकारवालाहरूले स्पष्टीकरण मागिरहेका छन्।

​दाङ मात्र नभई देशभरका सहरी क्षेत्रमा मन्टेस्वरीको नाममा भइरहेको यस्तो ‘शुल्क आतङ्क’ लाई नियन्त्रण गर्न संघीय र स्थानीय दुवै सरकारले ठोस कदम चाल्नुपर्ने आवश्यकता देखिएको छ।

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *