दाङ, फागुन २ कृष्ण अधिकारी
दाङको तुलसीपुर ६ स्थित राप्ती विद्या मन्दिरमा कक्षा ९ मा अध्ययनरत विद्यार्थीहरूले कक्षा १० मा अध्ययनरत विद्यार्थीहरूलाई सम्मान तथा विदाई गरेका छन्।
विद्यालय परिसरमा आयोजित कार्यक्रममा विद्यार्थी, शिक्षक तथा कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
दीर्घ समयदेखि गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको राप्ती विद्या मन्दिरले विद्यार्थीहरूलाई ज्ञानसँगै अनुशासन, नैतिकता र संस्कारको शिक्षा दिँदै आएको छ।
सोही परम्परालाई निरन्तरता दिँदै कक्षा ९ का विद्यार्थीहरूले कक्षा १० का विद्यार्थीहरूलाई खादा तथा सम्मानपत्र प्रदान गर्दै भावुक वातावरणमा विदाई गरेका हुन्।

विद्यालयबाट विदाई हुँदै गर्दा कक्षा १० की छात्रा तुलसा बस्नेतले आफू जुनसुकै विद्यालयमा गएर उच्च शिक्षा हासिल गरे पनि आफूले अध्ययन गरेको यस विद्यालयलाई कहिल्यै नबिर्सने बताइन्।
उनले विद्यालयबाट प्राप्त शिक्षा, माया र मार्गदर्शनले आफ्नो भविष्यको यात्रामा ठूलो प्रेरणा दिएको उल्लेख गरिन्।
कार्यक्रममा शुभकामना मन्तव्य दिँदै विद्यालयका प्राचार्य हेम सागर सुवेदीले विद्यार्थीहरूले सकारात्मक सोच, अनुशासन र मेहनतलाई जीवनको मूल आधार बनाएर अघि बढ्नुपर्नेमा जोड दिए।
उनले विद्यालयमा सिकेका ज्ञान, सीप र संस्कारलाई जीवनभर आत्मसात गर्दै जहाँ पुगे पनि विद्यालयको गरिमा उच्च राख्न आग्रह गरे।
त्यसैगरी सहायक प्राचार्य चुर्णबहादुर केसीले शिक्षा केवल परीक्षा पास गर्ने माध्यम मात्र नभई जीवनलाई सही दिशामा लैजाने महत्वपूर्ण आधार भएको उल्लेख गर्दै विद्यार्थीहरूलाई निरन्तर अध्ययन र मेहनतमा लागिरहन प्रेरित गरे।
वरिष्ठ शिक्षिका उषा डाँगीले विद्यार्थीहरूलाई अनुशासन, इमान्दारिता र जिम्मेवारीका साथ अघि बढ्न सुझाव दिँदै विद्यालयले सिकाएको मूल्य र संस्कारलाई जीवनभर कायम राख्न आग्रह गरिन्।
यसैगरी शिक्षिका दिलमाया केसीले विद्यार्थीहरूलाई आगामी दिनमा उच्च शिक्षा हासिल गर्दै समाज र राष्ट्रका लागि उपयोगी नागरिक बन्न आग्रह गरिन्।
उनले विद्यालयले सिकाएको ज्ञान र संस्कारलाई जीवनभर मार्गदर्शनका रूपमा लिनुपर्ने बताइन्।
लेखापाल लीलाराज न्यौपानेले विद्यार्थीहरूलाई लक्ष्यप्रति स्पष्ट भएर निरन्तर मेहनत गर्न सुझाव दिँदै भविष्यमा जहाँ पुगे पनि विद्यालयको नाम र गरिमालाई उच्च राख्ने गरी अघि बढ्न प्रेरणा दिए।
कक्षा ९ की छात्रा बिपिका भण्डारीले स्वागत मन्तव्य व्यक्त गरेको उक्त कार्यक्रम आदित्य सुवेदीको सभापतित्वमा सम्पन्न भएको थियो।
कार्यक्रमको सहजीकरण विद्यार्थी निमा डाँगी र सुस्मिता बुढामगरले गरेका थिए।
सम्मान, शुभकामना आदान प्रदान तथा सांस्कृतिक प्रस्तुतिहरूले कार्यक्रमलाई अझै आकर्षक र स्मरणीय बनाएको थियो।
