तुलसीपुर, २५ पुष । दाङमा झण्डै २५ किलो अवैध लागूऔषध चरेस सहित ३ जनलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा प्युठानको स्वर्गद्वारी नगरपालिका –२ बस्ने वर्ष ३९ का निम बहादुर आले, नौबहिनी गाउँपालिका– २ बस्ने वर्ष २१ की देउकली बुढामगर र रोल्पाको त्रिवेणी गाउँपालिका – ७ बस्ने वर्ष २९ का प्रकाश घर्ती मगर रहेका छन् । बुधबार साँझ ७ बजे पक्राउ परेकाहरूको साथबाट २४ किलो ७१० ग्राम चरेस बरामद गरेको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी इश्वर थापाले जानकारी दिए । घोराही उपमहानगरपालिका– १३ सिर्जनशील टोलमा कुल बहादुर बस्नेतको घर भाडामा लिएर अवैध लागूऔषधको कारोबार गर्ने गरेको सूचना प्राप्त भएपछि प्रहरीले घरमा छापा हानेको थियो ।
