दाङ : दंगीशरण गाउँपालिका १ बाँकी बेटारपुरमा रहेको महालक्ष्मी सामुदायिक वनमा वृक्षारोपण गरिएको छ । वन तथा कृषि सहज कार्यक्रम अन्तर्गत यस हाम्रो राजाकोट बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र महालक्ष्मी सामुदायिक वन उपभोक्ता समुहको आयोजना एवम् गाउँपालिका र दंगीशरण सव डिभिजन वन कार्यालय श्रीगाउँको सहकार्यमा बाँस, मौहवा, जामुनो, चिउरी आदि बिरुवा सामुदायिक वनको करिव २ हेक्टर क्षेत्रफलको खाली जमिनमा रोपिएको छ । सहकारी संस्थाका अध्यक्ष विष्णु गौतमको अध्यक्षता एवम् गाउँपालिका अध्यक्ष शम्भु गिरीको प्रमुख आतिथ्यमा वृक्षारोपण कार्यक्रम गरिएको थियो । कार्यक्रममा गाउँपालिका निवर्तमान अध्यक्ष भागिराम चौधरी, न वन कार्यालय श्रीगाउँका प्रमुख श्यामदेव यादव, वडा नं. १ का वडा अध्यक्ष रमेश भण्डारी, गाउँपालिका कार्यपालिका सदस्य मिना चौधरी, सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल, स्थानीय महासङ्घका अध्यक्ष शोभाकर न्यौपाने लगायत महालक्ष्मी सामुदायिक वनका उपभोक्ता र सहकारी संस्थाका पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहेको थियो ।
