July 10, 2026

किताबी शिक्षाबाट उद्यमशीलतासम्म : सगरमाथा बोर्डिङ स्कुलको फुड फेस्टिबल’ले सिकायो बजार र आत्मनिर्भरता
दाङ २०८२ माघ २६ गते कृष्ण अधिकारी
तुलसीपुर–९ बेलुवास्थित सगरमाथा बोर्डिङ स्कुलले आइतबार विद्यालय प्राङ्गणमा एक दिने ‘फुड फेस्टिबल’ आयोजना गर्दै विद्यार्थीलाई व्यवहारिक शिक्षा र उद्यमशीलतासँग जोड्ने सशक्त उदाहरण प्रस्तुत गरेको छ।
विद्यार्थीहरूको किताबी ज्ञानलाई व्यवहारमा उतार्ने तथा जीवनोपयोगी सीप विकास गराउने उद्देश्यले आयोजना गरिएको खाद्य मेलामा विद्यार्थीहरूले समूहगत रूपमा स्टल सञ्चालन गर्दै आफैँले तयार पारेका मौलिक तथा स्थानीय परिकारहरूको प्रदर्शनी तथा बिक्री गरेका थिए।
मेलामा अर्गानिक खानासँगै नेपाली समाजमा लोकप्रिय सेलरोटी, पपकर्न, गहुँको रोटी, भाजीको साग, पकौडा लगायतका परिकारहरू प्रस्तुत गरिएको थियो। परिकार तयारीदेखि मेनु निर्माण, मूल्य निर्धारण र बिक्रीसम्मको सम्पूर्ण जिम्मेवारी विद्यार्थीहरूले नै सम्हालेका थिए, जसले उनीहरूको सक्रिय सहभागिता र उत्साह प्रस्ट देखिन्थ्यो।
विद्यालयका प्रधानाध्यापक छविकुमार वलीले पढाइसँगै व्यवहारिक सीप सिकाउन फुड फेस्टिबल अत्यन्त फलदायी भएको बताउनुभयो।
यस कार्यक्रमले विद्यार्थीलाई हाम्रो सांस्कृतिक परिकारहरूको महत्त्व बुझाउनुका साथै आर्थिक कारोबार, मूल्य निर्धारण र बजार व्यवस्थापनको आधारभूत ज्ञान पनि दिएको छ,” उहाँले भन्नुभयो, विद्यार्थीले सिकाइसँगै आम्दानीसमेत गर्न सफल भएका छन्।
कार्यक्रममा मन्तव्य राख्दै पत्रकार बसन्त पौडेलले आजको शिक्षा पुस्तकमै सीमित रहन नहुने स्पष्ट पार्नुभयो।
आजको प्रतिस्पर्धी समाजमा विद्यार्थीलाई केवल किताबी ज्ञानले मात्र पुग्दैन उहाँले भन्नुभयो, “विद्यालयस्तरमै श्रम, उत्पादन, मूल्य निर्धारण र बजारको अभ्यास गराउँदा विद्यार्थी आत्मनिर्भर, जिम्मेवार र उद्यमशील नागरिक बन्ने आधार तयार हुन्छ।”
उहाँले यस्ता व्यवहारिक तथा सिर्जनात्मक शैक्षिक गतिविधिले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने उल्लेख गर्दै सगरमाथा बोर्डिङ स्कुलले थालेको अभ्यास अनुकरणीय भएको बताउनुभयो।
आफ्नै मेहनतले परिकार तयार गरी बिक्री गर्दा विद्यार्थीहरूमा आत्मविश्वास, जिम्मेवारीबोध र श्रमको सम्मान गर्ने भावना विकास भएको विद्यालय प्रशासनको भनाइ छ।
पछिल्लो समय परीक्षा केन्द्रित शिक्षाबाट बाहिर निस्कँदै ‘लर्निङ बाइ डुइङ’ अर्थात गरेर सिक्ने शिक्षण पद्धतिलाई विद्यालयहरूले प्राथमिकता दिइरहेका छन्। सोही अवधारणालाई आत्मसात गर्दै सगरमाथा बोर्डिङ स्कुलले विद्यार्थीलाई उद्यमशील, आत्मनिर्भर र श्रमप्रेमी बनाउन यो कार्यक्रम आयोजना गरेको हो।
मेलामा अभिभावक तथा स्थानीय समुदायको उल्लेख्य उपस्थिति रहेको थियो, जसले विद्यालय–समुदाय सहकार्यलाई थप मजबुत बनाएको छ।
विद्यालयका प्रधानाध्यापक छविकुमार वलीको अध्यक्षता तथा विद्यालयका सिइओ यमकान्त खरेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको सहजीकरण विद्यालयका कार्यक्रम संयोजक शरद शर्मा मज्गैँयाले गर्नुभएको थियो।

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *