२०८२ माघ २९ कृष्ण अधिकारी
तुलसीपुर ६, दाङस्थित हिमाल एकाडेमी दाङले आफ्नो २२औँ अभिभावक दिवस २०८२ आज भव्य, अनुशासित र उत्साहपूर्ण वातावरणमा सम्पन्न गरेको छ।
विद्यालय प्राङ्गणमा आयोजित कार्यक्रममा अभिभावक, शिक्षक, विद्यार्थी तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिती रहेको थियो।
कार्यक्रमका सभापति विद्यालय व्यवस्थापन समिति अध्यक्ष बिनीलकुमार मिश्र रहनुभएको थियो।
प्रमुख अतिथिका रूपमा राप्ती बबई क्याम्पस सञ्चालक समिति अध्यक्ष श्यामकुमार रेग्मी, विशिष्ट अतिथिका रूपमा तुलसीपुर नगर प्याप्सन अध्यक्ष डम्बर डाँगी, र अतिथिका रूपमा प्रदेश खेलकुद प्रतिनिधि मुक्तिप्रसाद न्यौपाने उपस्थित हुनुभएको थियो।
त्यसैगरी विद्यालयका प्राचार्य मधुसुदन केसी, हेड सर नवीन कुमार पराजुली, सहायक प्राचार्य राधा पोख्रेल, सहायक प्राचार्य ए. मुकेश कुमार, विद्यालय व्यवस्थापन समिति सदस्यहरू बलदेव शर्मा, गणेश अधिकारी, जीवन शर्मा, अनिल चौधरी, तथा शिक्षक अभिभावक संघ सदस्य जीवराज रोका सहित सम्पूर्ण शिक्षक, अभिभावक र विद्यार्थीहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा शिशु कक्षादेखि कक्षा पाँचसम्मका विद्यार्थीहरूले नृत्य, तथा सांस्कृतिक प्रस्तुति देखाएका थिए ।
विशेषगरी शिशु कक्षाका करिब ढाई वर्षका बालबालिकाको नृत्य सबैको आकर्षणको केन्द्र बन्यो।

कक्षा ४ की छात्रा रिया ले शिक्षाको महत्वबारे प्रभावशाली मन्तव्य राखिन् भने कक्षा १ का विद्यार्थी डाइमण्ड योगी ले आत्मविश्वासपूर्वक आफ्नो विचार राखेका थिए।
अन्य विद्यार्थीहरूले पनि शिक्षा, अनुशासन, संस्कार, राष्ट्रप्रेम र भविष्य निर्माणबारे सन्देशमूलक प्रस्तुति दिएका थिए।
विद्यार्थीहरू नेपाली मौलिक पोशाकमा सजिएर प्रस्तुत हुँदा कार्यक्रम अझ जीवन्त र सांस्कृतिक झल्कोयुक्त बनेको थियो।
कार्यक्रममा विद्यार्थी मात्र नभई अभिभावकहरूको पनि बेजोड प्रस्तुति रहेको थियो।
अभिभावकहरूले सांस्कृतिक र रचनात्मक कार्यक्रम प्रस्तुत गर्दै विद्यालयप्रतिको अपनत्व, सहयोग र प्रतिबद्धता देखाएका थिए।
कार्यक्रममा सम्बोधन गर्दै प्रमुख अतिथि श्यामकुमार रेग्मीले विद्यालयले गुणस्तरीय शिक्षा र विद्यार्थीको समग्र विकासमा महत्वपूर्ण योगदान पुर्याएको उल्लेख गर्नुभयो।
विशिष्ट अतिथि तुलसीपुर नगर प्याप्सन अध्यक्ष डम्बर डाँगी ले निजी विद्यालयहरूले शैक्षिक उत्कृष्टतासँगै सामाजिक उत्तरदायित्व निभाउनु आवश्यक रहेको बताउँदै विद्यालयको अतिरिक्त क्रियाकलापमा सक्रियता प्रशंसनीय रहेको बताए !

प्रदेश खेलकुद प्रतिनिधि मुक्तिप्रसाद न्यौपानेले खेलकुद र अतिरिक्त गतिविधिले विद्यार्थीको आत्मविश्वास अभिवृद्धि गर्ने धारणा व्यक्त गर्नुभयो।
सभापति बिनीलकुमार मिश्रले विद्यालयलाई अझ व्यवस्थित र प्रविधिमैत्री बनाउने प्रतिबद्धता व्यक्त गर्दै अभिभावकहरूको निरन्तर साथ र सहयोग विद्यालयको मुख्य शक्ति भएको बताए।
विद्यालयका प्राचार्य मधुसुदन केसीले शिक्षा, संस्कार, अनुशासन, खेलकुद र सांस्कृतिक गतिविधिलाई सँगसँगै अघि बढाउँदै आएको जानकारी गराए।
हेड सर नवीन कुमार पराजुलीले विद्यार्थीको व्यक्तित्व विकासलाई प्राथमिकता दिइएको उल्लेख गर्नुभयो।
सहायक प्राचार्यहरू राधा पोख्रेल र ए. मुकेश कुमारले गुणस्तरीय शिक्षण र अभिभावक विद्यालय सहकार्यलाई प्राथमिकता दिइएको बताए।
विद्यालय व्यवस्थापन समिति सदस्यहरू र शिक्षक अभिभावक संघका प्रतिनिधिहरूले विद्यालयको प्रगति र गुणस्तरीय शिक्षाका लागि सधैं प्रतिबद्ध रहने धारणा व्यक्त गर्नुभयो।
२२औँ अभिभावक दिवस कार्यक्रम उत्साह, उल्लास, सांस्कृतिक झल्को र सन्देशमूलक प्रस्तुतिसहित सफलतापूर्वक सम्पन्न भएको विद्यालयले जनाएको छ।
कार्यक्रमको सहजीकरण शिक्षक सनोद थापा तथा विद्यालयकी एक छात्राले संयुक्त रूपमा गर्नुभएको थियो।
