July 10, 2026

२०८२ माघ २५ कृष्ण अधिकारी तुलसीपुर

तुलसीपुर उपमहानगरपालिका १० गोलौरीमा सञ्चालित आचार्यकुलम् दाङको दोस्रो वार्षिक साधारण सभा आज भव्य तथा ऐतिहासिक रूपमा सम्पन्न भएको छ।

शिक्षा, योग, संस्कार र संस्कृत अध्ययनलाई एकैसाथ अघि बढाउँदै समाज रूपान्तरणको अभियानमा जुटेको आचार्यकुलम् दाङले साधारण सभामार्फत आफ्नो भावी योजना र सामाजिक प्रतिबद्धता सार्वजनिक गरेको छ।
कार्यक्रमको सभाध्यक्षता आचार्यकुलम् दाङका अध्यक्ष दीपक बस्यालले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा साध्वी देव कृपा ज्यूको गरिमामय उपस्थिति रहेको थियो।

कार्यक्रममा लुम्बिनी प्रदेश प्रभारी प्रेम शाह, पतञ्जलि योग समिति नेपालका आजीवन सदस्य उत्तम कुमार श्रेष्ठ लगायत विशिष्ट अतिथिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमको सञ्चालन दुर्गाप्रसाद भण्डारीले गर्नुभएको थियो।
सभाध्यक्ष तथा संस्थाका अध्यक्ष दीपक बस्यालले आफ्नो मन्तव्यमा आचार्यकुलम् दाङ नेपालमै शिक्षा मात्र नभई संस्कार, योग र संस्कृत पढाइ हुने पहिलो विद्यालय भएको दाबी गर्नुभयो।

उहाँले आगामी दिनमा नयाँ भवन निर्माण गर्ने, विद्यालयमा करिब ५०० विद्यार्थी अध्ययन गर्न सक्ने क्षमताको संरचना विस्तार गर्ने तथा विद्यार्थीको सहजताका लागि यातायात सेवा थप गर्ने दीर्घकालीन योजना सार्वजनिक गर्नुभयो।

साथै उहाँले सामाजिक उत्तरदायित्वलाई संस्थाको मूल आधार बनाउँदै अनाथ तथा असहाय बालबालिकालाई निःशुल्क शिक्षा प्रदान गर्ने, उनीहरूको लालनपोषणदेखि सम्पूर्ण खर्च आचार्यकुलम् दाङले नै व्यहोर्ने ऐतिहासिक निर्णय सभामा सार्वजनिक गर्नुभयो। आगामी वर्षदेखि संस्थाको सदस्य संख्या एक हजार पुर्‍याउने लक्ष्यसहित आचार्यकुलम् दाङलाई शिक्षा र सेवाको नमूना केन्द्र बनाउने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो।
प्रमुख अतिथि साध्वी देव कृपा ज्यूले योग, संस्कार र संस्कृत शिक्षाले मानव जीवनलाई अनुशासित र समाजलाई शुद्ध बनाउने बताउँदै आचार्यकुलम् दाङले आधुनिक शिक्षासँगै वैदिक संस्कारको पुनर्जागरण गरिरहेको उल्लेख गर्नुभयो।
लुम्बिनी प्रदेश प्रभारी प्रेम शाहले आचार्यकुलम् दाङको शैक्षिक तथा सामाजिक अभियानलाई अनुकरणीय बताउँदै योग, शिक्षा र संस्कृत अध्ययनको संयोजनले समाजमा सकारात्मक परिवर्तन ल्याइरहेको धारणा राख्नुभयो। पतञ्जलि योग आजीवन सदस्य समिति नेपालका प्रतिनिधि उत्तम कुमार श्रेष्ठले पनि संस्थाको लक्ष्य प्राप्तिमा निरन्तर सहकार्य रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा स्वागत मन्तव्य प्रहलाद शाहले राख्नुभएको थियो। विद्यालयको प्रगति प्रतिवेदन प्रधानाध्यापक मिलन बुढाथोकीले प्रस्तुत गर्नुभयो भने कोषाध्यक्ष दानबहादुर बुढाथोकीले आर्थिक प्रतिवेदन सार्वजनिक गर्दै संस्थाको पारदर्शिता र सुशासनबारे जानकारी गराउनुभयो।
सचिव टेक प्रकाश केसीले २०७९ फागुनदेखि २०८२ माघ ३ महिना ३२ दिन सम्मको संस्थागत प्रगति प्रतिवेदन प्रस्तुत गर्दै शिक्षा, योग, संस्कृत अध्ययन तथा सामाजिक सेवामा हासिल उपलब्धिहरू सभासमक्ष राख्नुभयो।
दोस्रो वार्षिक साधारण सभाले नयाँ भवन निर्माण, ५०० विद्यार्थी क्षमताको विस्तार, यातायात सेवा, अनाथ बालबालिकाको निःशुल्क शिक्षा तथा संस्कृत शिक्षासहितको शैक्षिक मोडेलमार्फत आचार्यकुलम् दाङलाई राष्ट्रिय स्तरको नमूना विद्यालय बनाउने दृढ संकल्प गरेको निष्कर्ष निकालेको छ।

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *