दाङ, तुल्सीपुर २०८३ वैशाख ६ कृष्ण अधिकारी
तुल्सीपुर उपमहानगरपालिका–६, गोलौरामा रहेको डिभाइन टेम्पल एकेडेमीले सार्वजनिक कुलो मिचेर निर्माण गरेको भनिएको विद्यालय भवन अझैसम्म पनि नहटाइएको पाइएको छ। सार्वजनिक उपयोगमा रहेको कुलोमाथि संरचना निर्माण भएपछि पानीको प्राकृतिक बहाव अवरुद्ध भएको र त्यसले स्थानीयवासीलाई प्रत्यक्ष असर पारेको भन्दै गुनासो तीव्र बन्दै गएको छ।
स्थानीयवासीका अनुसार उक्त कुलो वर्षौंदेखि सिँचाइ तथा पानी निकासको मुख्य माध्यमका रूपमा प्रयोग हुँदै आएको थियो। तर विद्यालय भवन निर्माणपछि कुलो थुनिँदा खेतबारीमा सिँचाइ समस्या बढ्नुका साथै वर्षायाममा डुबानको जोखिम समेत उच्च भएको उनीहरूको भनाइ छ। बारम्बार सम्बन्धित निकायमा जानकारी गराउँदा पनि अहिलेसम्म कुनै ठोस पहल नभएको भन्दै स्थानीय आक्रोशित बनेका छन्।
यस विषयमा तुल्सीपुर–६ का वडा अध्यक्ष दुजमान भण्डारीसँग बुझ्दा उनले अवैध संरचना हटाउने विषयमा पहिले नै मौखिक सहमति भइसकेको बताएका छन्। तर सहमति भएको लामो समय बितिसक्दा पनि संरचना यथावत रहनुले कार्यान्वयन पक्षमाथि गम्भीर प्रश्न खडा गरेको छ।
यसैबीच, डिभाइन टेम्पल एकेडेमीका सीईओसँग यस विषयमा बुझ्न पटक–पटक फोन सम्पर्क गर्दा फोन नउठाइएको र केही अवस्थामा फोन काटिएको पाइएको छ। यसले विद्यालय पक्षको धारणा सार्वजनिक नहुँदा विवाद झन् गहिरिँदै गएको देखिन्छ।
सार्वजनिक सम्पत्तिमाथि अतिक्रमण हुँदा समेत तुल्सीपुर उपमहानगरपालिका लगायत सरोकारवाला निकायको स्पष्ट र प्रभावकारी कदम नदेखिनुले प्रशासनको भूमिकामाथि थप शंका उत्पन्न भएको छ। कानुनी रूपमा सार्वजनिक कुलो वा सरकारी जमिन अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउनुपर्ने स्पष्ट व्यवस्था भए पनि व्यवहारमा कार्यान्वयन नहुँदा यस्ता घटना दोहोरिने खतरा बढ्दो देखिन्छ।
