July 9, 2026

कृष्ण अधिकारी

तुलसीपुर, चैत १९ देशभर आजदेखि माध्यमिक शिक्षा परीक्षा (एसईई) सुरु भएको छ।

परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का अनुसार यस वर्ष ५ लाख १२ हजार ४२१ विद्यार्थी परीक्षामा सहभागी हुँदैछन्, जसमा २ लाख ५७ हजार ६१३ छात्रा, २ लाख ५४ हजार ८०१ छात्र र ७ जना अन्य रहेका छन्।
परीक्षा जापानस्थित एभरेस्ट स्कुलसहित देशभरका १ हजार ९६६ केन्द्रमा सञ्चालन भइरहेको छ।

नियमिततर्फ ४ लाख ४१ हजार ५६६ र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ परीक्षार्थी सहभागी छन्।

परीक्षा व्यवस्थापनका लागि केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, सहयोगी र सुरक्षाकर्मी गरी झण्डै ७३ हजार जनशक्ति परिचालन गरिएको छ।
परीक्षा हरेक दिन बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ। आज पहिलो दिन अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा भइरहेको छ भने परीक्षा चैत २९ गतेसम्म चल्नेछ।
यस वर्ष परीक्षा प्रणालीलाई थप कडाइ र पारदर्शी बनाइएको छ। परीक्षा हलभित्र मोबाइल फोन, स्मार्ट घडी तथा अन्य विद्युतीय उपकरण पूर्ण रूपमा निषेध गरिएको छ।

साथै, सामूहिक अनुगमनमा रोक लगाउँदै प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा अनुगमन समिति गठन गरिएको छ।
परीक्षा तालिका अनुसार भोलि चैत २० गते अनिवार्य नेपाली, २२ गते गणित, २३ गते विज्ञान तथा प्रविधि, २४ गते सामाजिक अध्ययन, २५ गते ऐच्छिक प्रथम, २६ गते ऐच्छिक द्वितीय तथा चैत २७, २८ र २९ गते प्राविधिक धारका बाँकी विषयहरूको परीक्षा सञ्चालन हुनेछ।
यस वर्षको एसईईलाई व्यवस्थित, मर्यादित र विश्वसनीय बनाउन सरकारको विशेष ध्यान केन्द्रित भएको देखिएको छ।

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *