July 9, 2026

तुलसीपुर, १२ फागुन कृष्ण अधिकारी

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (CTEVT) को ३८औँ स्थापना दिवसका अवसरमा तुलसीपुरमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ।

दाङस्थित तुलसीपुर बहुप्राविधिक शिक्षालयको आयोजना तथा फार्मेसी सङ्कायको व्यवस्थापनमा सम्पन्न कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी तुलसीपुर रक्त सञ्चार केन्द्रले प्राविधिक सहयोग गरेको थियो।
फार्मेसी सङ्काय तेस्रो वर्षका विद्यार्थी तुलराज बरालको अध्यक्षता तथा कलेजका सहायक प्रमुख गोपाल रेग्मीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रमको सुरुवात् कानुन सङ्कायका प्रशिक्षक सुष्मा केसी र प्रेक्षा गोराथोकीले जीवनमै पहिलो पटक रक्तदान गरेर गर्नुभएको थियो।
कार्यक्रममा तेजिना डिसी, दीपा केसी, कविन विसी, डेभिट केसी, नम्रप्रभा बुढामगर, सन्ध्या चन्द, नवराज सुनार, राजीव थापा, अविजित बस्नेत, सत्य चौधरी, सिर्जना चौधरी, सीता शाह, बालिका डाँगी, सम्झना बोहोरा, निर्मला खत्री लगायत गरी ३० जनाले रक्तदान गरेका छन्।
शिक्षालयका प्रमुख वसन्त आचार्यले जिल्लामा रगतको अभाव भइरहेका बेला शिक्षालयले विभिन्न अवसर पारेर नियमित रूपमा रक्तदान कार्यक्रम आयोजना गर्दै आएको बताउनुभयो।

सहायक प्रमुख गोपाल रेग्मीले निर्वाचनका कारण रक्तदाताको कमी हुँदा बिरामीलाई रगत अभाव हुन थालेपछि कार्यक्रम आयोजना गरिएको स्पष्ट पार्नुभयो।

उहाँले विद्यार्थीहरूलाई सामाजिक उत्तरदायित्व बहन गराउने उद्देश्यले यस्ता कार्यक्रम सञ्चालन गरिएको उल्लेख गर्नुभयो।
रक्त सञ्चार केन्द्र तुलसीपुरका प्राविधिक नरेश चौधरीका अनुसार माघ महिनामा रक्तदान कार्यक्रमबाट ११ पिन्ट र अन्य दाताबाट १३७ पिन्ट गरी कुल १४८ पिन्ट रगत सङ्कलन भएको थियो। फागुन ११ गतेसम्म १८ पिन्ट रगत सङ्कलन भएको छ भने ४५ पिन्ट रगत खपत भइसकेको छ।
त्यस्तै, राप्ती प्रादेशिक अस्पतालमा ८० जना बिरामीले नियमित रूपमा डायलासिस सेवा लिँदै आएको जानकारी दिइएको छ। जिल्लामा बढ्दो उपचार आवश्यकतासँगै रगतको माग उच्च रहेकाले यस्ता कार्यक्रमले महत्वपूर्ण सहयोग पुर्‍याउने विश्वास गरिएको छ।

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *