दाङ, १६ माघ कृष्ण अधिकारी
दाङबाट काठमाडौं जाँदै गरेको नाइट बस चितवनमा दुर्घटनामा परेको छ।
चितवनको मुग्लिन नारायणगढ सडकखण्ड अन्तर्गत घुमाउने भन्ने स्थानमा लुम्बिनी प्रदेश ०२–००१ ख ०४६६० नम्बरको बस पल्टिँदा ३८ जना यात्रु घाइते भएका छन्।
दुर्घटना शुक्रबार बिहान करिब ३ बजेर १० मिनेट जाँदा भएको हो। प्रहरीका अनुसार बस सडकबाट चिप्लिएर पल्टिएको हो। घटनालगत्तै प्रहरी टोलीले उद्धार गरी घाइते यात्रुहरूलाई उपचारका लागि विभिन्न अस्पतालमा पठाएको छ।
घाइतेमध्ये मौलाकालिका अस्पताल, भरतपुरमा १५ जना, पुरानो मेडिकल कलेज, भरतपुरमा १३ जना, नयाँ मेडिकल कलेज, भरतपुरमा ४ जना र जनता केयर अस्पताल, मुग्लिनमा ६ जना को उपचार भइरहेको छ।
अधिकांश घाइतेको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ।
