July 12, 2026

कृष्ण अधिकारी तुलसीपुर, ३० पुस
नेपाल उद्योग तथा व्यवसाय महासंघ तुलसीपुर नगर कमिटीले विपन्न तथा ज्येष्ठ नागरिकहरूलाई लक्षित गर्दै न्यानो कपडा वितरण गरेको छ।
बुधबार तुलसीपुर बसपार्क नजिकै रहेको प्रतीक्षालयमा आयोजित कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका–५ का ४० जना भन्दा बढी विपन्न तथा ज्येष्ठ नागरिकहरूलाई ब्लाङ्केट वितरण गरिएको हो।
कार्यक्रम महासंघ तुलसीपुर नगर कमिटीका अध्यक्ष पदम पोख्रेल (जेठुकान्छु)को अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा भूमि समस्या समाधान आयोग दाङका अध्यक्ष हुकुम बस्नेत प्रमुख अतिथि तथा नेकपा एमाले दाङका सचिव श्याम डाँगी विशिष्ट अतिथिका रूपमा उपस्थित थिए।


कार्यक्रममा बोल्दै अध्यक्ष पोख्रेलले महासंघले सामाजिक उत्तरदायित्व अन्तर्गत उद्योगी तथा व्यवसायीहरूको सहकार्यमा आर्थिक संकलन गरी न्यानो कपडा वितरण गरिएको बताए। जाडो मौसममा विपन्न तथा ज्येष्ठ नागरिकहरूलाई केही राहत होस् भन्ने उद्देश्यले तुलसीपुर–५ का विभिन्न टोललाई लक्षित गरी कार्यक्रम आयोजना गरिएको उनको भनाइ थियो। साथै, कार्यक्रममा सहयोग गर्ने सम्पूर्ण सहयोगदाताप्रति उनले धन्यवाद व्यक्त गरे।


प्रमुख अतिथि बस्नेतले विपन्न तथा ज्येष्ठ नागरिकहरूको सेवा गर्नु नै साँचो मानवीय सेवा भएको उल्लेख गर्दै कार्यक्रमको प्रशंसा गरे। महासंघले अध्यक्ष पोख्रेलको नेतृत्वमा विगतदेखि नै विभिन्न सामाजिक गतिविधिहरू गर्दै आएको बताउँदै यस्ता उदाहरणीय कार्यले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने उनको भनाइ थियो।
कार्यक्रममा नेकपा एमाले दाङका सचिव श्याम डाँगी, चेम्बर अफ कमर्सका केन्द्रीय सदस्य तथा तुलसीपुरका व्यापारी टोपबहादुर घर्ति, पत्रकार दीपक बोहरा लगायतले आ–आफ्नो धारणा राखेका थिए।
कार्यक्रमको सहजीकरण नेपाल उद्योग तथा व्यवसाय महासंघ तुलसीपुर नगर कमिटीकी महासचिव विमला शर्माले गरेकी थिइन्।

Facebook Notice for EU! You need to login to view and post FB Comments!

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *