September 8, 2026

कृष्ण अधिकारी२०८३ जेठ २ गते,

दाङ कमलपोखरी योगसाधना केन्द्र रजौरा को दोस्रो वार्षिकोत्सव कार्यक्रम भव्य तथा उल्लासपूर्ण वातावरणमा सम्पन्न भएको छ । कार्यक्रमकै अवसरमा योगसाधक तथा योगशिक्षक मैयादेवी सापकोटा द्वारा रचित कविता संग्रह ‘भावनाका तरङ्गहरू’ को लोकार्पणसमेत गरिएको थियो ।कमलपोखरी योगसाधना केन्द्रको सभाहलमा आयोजित कार्यक्रममा केन्द्रका अध्यक्ष वलदेव रजौरेको अध्यक्षता रहेको थियो भने प्रमुख अतिथिका रूपमा पतञ्जली योग समिति नेपाल लुम्बिनी प्रदेश प्रशिक्षण विभाग प्रमुख दीपक बस्याल सहभागी रहेका थिए । कार्यक्रममा लुम्बिनी प्रदेश सदस्य लक्ष्मी वली, दाङ जिल्ला प्रभारी विनोद चौधरी तथा साहित्यकार एवं नेपाली लेखक संघका केन्द्रीय सल्लाहकार डा. कृष्णराज डिसी विशिष्ट अतिथिका रूपमा उपस्थित रहेका थिए ।त्यसैगरी पतञ्जली योग समिति दाङका सदस्यहरू, जिल्ला युवा प्रभारी मोतिराम वली, जिल्ला महिला समिति सह–प्रभारी समीक्षा रिजाल, तुलसीपुर नगर प्रभारी दुर्गा भण्डारी, दंगीशरण प्रभारी दीपक बिष्ट, तुलसीपुर नगर महिला प्रभारी पविता योगी लगायत विभिन्न साधना केन्द्रका अध्यक्ष तथा योगसाधकहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।कार्यक्रममा प्रमुख अतिथि दीपक बस्यालले योग केवल शारीरिक अभ्यास मात्र नभई जीवनलाई सही मार्गमा अघि बढाउने साधना भएको उल्लेख गर्दै योगमार्फत समाजमा सकारात्मक चेतना फैलिरहेको बताए । उनले कमलपोखरी योगसाधना केन्द्रले छोटो समयमै योग, अनुशासन र आध्यात्मिक चेतनाको क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै प्रशंसा गरे । साथै साहित्य र योगको संयोजनले समाजलाई सभ्य, सिर्जनशील र संस्कारित बनाउन महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गरे ।विशिष्ट अतिथि लक्ष्मी वलीले योगले मानिसलाई आत्मबल, धैर्यता र सकारात्मक सोच प्रदान गर्ने बताउँदै महिलाहरूको सक्रिय सहभागिताले अभियानलाई अझ प्रभावकारी बनाएको बताइन् । जिल्ला प्रभारी विनोद चौधरीले योगलाई घरदैलो र समुदायसम्म विस्तार गर्नुपर्ने आवश्यकता औँल्याउँदै नयाँ पुस्तालाई योगसँग जोड्न आग्रह गरे । साहित्यकार डा. कृष्णराज डिसीले ‘भावनाका तरङ्गहरू’ कविता संग्रह संवेदना, समाज र जीवनका विविध पक्षलाई समेटिएको सशक्त कृति भएको उल्लेख गर्दै स्रष्टा मैयादेवी सापकोटाको सिर्जनशीलताको प्रशंसा गरे ।कार्यक्रममा केन्द्रका सचिव बामदेव बिष्टले सांगठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष भागीराम वलीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।कार्यक्रमबाट वलदेव रजौरेको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ । समितिको महासचिवमा बामदेव बिष्ट चयन भएका छन् । सदस्यहरूमा भागीराम वली, मैयादेवी सापकोटा, विमला बुढाथोकी, पूजा केसी, पूर्णिमा ज्ञवाली, बसुन्धरा केसी, उमा बस्नेत, नारायण अधिकारी, भरत आचार्य, यमकुमारी भण्डारी, सालिकराम वली, फालुराम चौधरी र खुमा बस्नेत चयन भएका छन् ।कार्यक्रमको सहजीकरण केन्द्रका सचिव बामदेव बिष्टले गरेका थिए

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *