दाङ, तुल्सीपुर कृष्ण अधिकारी
वैशाख १६
तुल्सीपुर उपमहानगरपालिका–६, गोलौरामा सार्वजनिक कुलोमाथि निर्माण गरिएको भनिएको डिभाइन टेम्पल एकेडेमीको विवादित भवन अन्ततः भत्काइएको छ। यसअघि सो संरचना हटाउन ढिलाइ भएको भन्दै स्थानीयवासीले तीव्र असन्तुष्टि जनाउँदै आएका थिए भने सरोकारवाला निकायको भूमिकामाथि समेत प्रश्न उठेको थियो।
केही दिनअघि सार्वजनिक कुलो अतिक्रमणको विषयमा समाचार प्रकाशित भएपछि त्यसको प्रभावस्वरूप विद्यालय पक्षले संरचना हटाएको स्थानीय स्रोतले जनाएको छ। कुलो थुनिँदा पानीको प्राकृतिक बहाव अवरुद्ध भई सिँचाइ तथा वर्षायाममा डुबानको जोखिम बढेको गुनासो व्यापक बनेको थियो।
स्थानीयका अनुसार वर्षौँदेखि प्रयोग हुँदै आएको उक्त कुलोमाथि भवन निर्माण भएपछि खेतबारीमा पानीको अभाव र बस्तीमा डुबानको खतरा बढेको थियो। बारम्बार गुनासो गर्दा पनि ठोस कदम नचालिएको अवस्थामा सञ्चारमाध्यममा विषय बाहिरिएपछि मात्र कार्यान्वयन भएको देखिएको छ।
यसअघि वडा अध्यक्ष दुजमान भण्डारीले अवैध संरचना हटाउने विषयमा मौखिक सहमति भइसकेको बताएका थिए। तर सहमति कार्यान्वयनमा ढिलाइ हुँदा आलोचना चुलिएको थियो। अहिले भने उक्त संरचना भत्काइएपछि स्थानीयवासीले आंशिक राहत महसुस गरेका छन्।
यद्यपि, सार्वजनिक सम्पत्तिमाथि अतिक्रमण भइसकेपछि मात्र कारबाही हुने प्रवृत्तिले प्रशासनिक संयन्त्रको प्रभावकारितामाथि गम्भीर प्रश्न उठाएको छ। कानुनी व्यवस्था स्पष्ट हुँदाहुँदै पनि कार्यान्वयनमा ढिलाइ हुनु र सञ्चारमाध्यमको दबाबपछि मात्र कदम चालिनुले यस्ता समस्या दोहोरिने जोखिम अझै कायमै रहेको सरोकारवालाहरू बताउँछन्।
