दाङ तुलसीपुरमा युवाहरूको अग्रसरतामा एक ऐतिहासिक सांस्कृतिक पहल सम्पन्न भएको छ। तुलसीपुर नगर जेसिसले ‘जेसिस बाटिका’ उद्घाटनसँगै आदिकवि भानुभक्त आचार्यको शालिक अनावरण तथा हस्तान्तरण कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको हो।

बिहीबार तुलसीपुर उपमहानगरपालिका–७ स्थित राप्ती शान्ति उद्यानमा आयोजित विशेष कार्यक्रममा नेपाली भाषा–साहित्यका अग्रदूत भानुभक्त आचार्यको शालिक अनावरण गरिएको हो। कार्यक्रममा राप्ती बबई क्याम्पस तुलसीपुरका क्याम्पस प्रमुख गणेश पार्धे प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो भने वडा नं. ७ का अध्यक्ष रामबहादुर जिसी र नेपाल जेसिजका राष्ट्रिय उपाध्यक्ष सन्दीप भुसाल विशिष्ट अतिथिका रूपमा सहभागी हुनुभएको थियो।
प्रमुख अतिथि पार्धेले आदिकवि भानुभक्त आचार्यले नेपाली भाषा र साहित्यको विकासमा पुर्याएको अतुलनीय योगदानको चर्चा गर्दै मध्यपश्चिम क्षेत्रमा पहिलोपटक यसरी शालिक स्थापना हुनु आफैँमा ऐतिहासिक उपलब्धि भएको उल्लेख गर्नुभयो। उहाँले युवाहरूको सक्रियतामा भएको यो पहलले सांस्कृतिक संरक्षणमा नयाँ सन्देश दिएको बताउनुभयो।
वडा अध्यक्ष जिसीले जेसिसले गर्दै आएका सामाजिक तथा नेतृत्व विकाससम्बन्धी गतिविधिहरूको खुलेर प्रशंसा गर्नुभयो। युवाहरूको नेतृत्व क्षमता अभिवृद्धिसँगै समाज परिवर्तनमा जेसिसको भूमिका प्रभावकारी रहेको उल्लेख गर्दै आगामी दिनमा सहकार्य अझ सशक्त बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

तुलसीपुर नगर जेसिस वर्ष २०२६ का अध्यक्ष कमल प्रकाश शर्माले संस्थाले विगतदेखि नै सामाजिक उत्तरदायित्व बहन गर्दै विभिन्न जनहितका कार्यहरू सञ्चालन गर्दै आएको जानकारी दिनुभयो। उहाँका अनुसार धारा निर्माण, प्रतीक्षालय निर्माणजस्ता पूर्वाधार विकाससँगै अहिले गणेशपुर पार्कमा ‘जेसिस बाटिका’ र भानुभक्तको शालिक स्थापना गर्नु गौरवको विषय भएको हो। यस्ता गतिविधिहरूलाई आगामी दिनमा अझ विस्तार गर्ने प्रतिबद्धता उहाँले जनाउनुभयो।
शालिक निर्माणका लागि अमेरिकामा रहेका देवबहादुर हमाल (सुरेश हमाल) को आर्थिक सहयोग रहेको जानकारी दिइएको छ। कार्यक्रममा त्रिसिद्धेश्वरी यातायात प्रणालीका अध्यक्ष सुरेश हमाल, राप्ती शान्ति उद्यानका अध्यक्ष सुधीर केसी, गणेश सामुदायिक वनका अध्यक्ष डिल्लीराज भण्डारी, समाजसेवी लक्ष्मी हमाल, जेसिसका पूर्व अध्यक्षहरू तथा पत्रकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा जेसिस आस्था पाठ शैलेन्द्र ओलीले वाचन गर्नुभएको थियो भने कार्यक्रम संयोजक दीपक केसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण महासचिव झगुप्रसाद सापकोटाले गर्नुभएको थियो।
यस कार्यक्रमले तुलसीपुरमा सांस्कृतिक पहिचान संरक्षण र युवाहरूको सामाजिक नेतृत्वलाई थप उचाइमा पुर्याउने संकेत दिएको छ।
