तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टिकाराम खड्काले उच्च शिक्षा हासिल गरेका युवामाझ बढ्दो बेरोजगारीप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्।
बिहीबार तुलसीपुरस्थित हिमाल एकाडेमीमा आयोजित कार्यक्रममा कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरूलाई सम्बोधन गर्दै उनले वर्तमान शिक्षा प्रणाली र रोजगारीबीचको गहिरो अन्तर औंल्याए।
उनका अनुसार अहिलेको यथार्थ निकै विरोधाभासपूर्ण छ एकातिर बजारमा दक्ष तथा सीपयुक्त जनशक्तिको अभाव छ भने अर्कोतिर शिक्षित युवाहरू बेरोजगार भएर बस्न बाध्य छन्। यो अवस्था स्वयं शिक्षा प्रणालीमाथि प्रश्न उठाउने खालको हो उनले स्पष्ट पारे।
मेयर खड्काले अबको शिक्षा केवल किताबी ज्ञानमा सीमित नभई व्यवहारिक, सीपमूलक र उत्पादनमुखी हुनुपर्नेमा जोड दिए। “विद्यालयहरू परीक्षा केन्द्रित मात्र होइन, जीवन उपयोगी सीप दिने थलो बन्नुपर्छ। बजारको मागअनुसार दक्ष जनशक्ति उत्पादन गर्न सके मात्र शिक्षाले वास्तविक अर्थमा रोजगारी सिर्जना गर्न सक्छ,” उनले भने।
त्यसैगरी, उनले निकट भविष्यमा हुन लागेको कक्षा १२ को परीक्षाका लागि विद्यार्थीहरूलाई हार्दिक शुभकामना व्यक्त गर्दै आत्मविश्वास, अनुशासन र इमान्दारिताका साथ परीक्षा दिन आग्रह गरे। परीक्षा डर होइन, अवसर हो यसलाई सकारात्मक रूपमा लिनुहोस्, उनको सुझाव थियो।
उनले समय व्यवस्थापन, निरन्तर अध्ययन र सकारात्मक सोचलाई सफलताको आधार बताउँदै सबै विद्यार्थीहरू उत्कृष्ट नतिजा ल्याउन सक्षम रहेको विश्वास व्यक्त गरे। साथै, आगामी शैक्षिक तथा व्यावसायिक यात्रामा सफलता हासिल गर्न अग्रिम शुभकामना पनि दिए।
कार्यक्रमको सन्दर्भमा बोल्दै उनले विद्यार्थीहरूले आफैंले आयोजना गरेका यस्ता गतिविधिले नेतृत्व विकास, आत्मविश्वास अभिवृद्धि तथा व्यवहारिक ज्ञान आर्जनमा महत्वपूर्ण भूमिका खेल्ने बताए। उनले यसलाई विद्यालयको सशक्त शैक्षिक संस्कारको रूपमा व्याख्या गरे।
कक्षा ११ की विद्यार्थी अन्जु रेउलेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राप्ती बबई क्याम्पसका पूर्व क्याम्पस प्रमुख शालिकराम रेग्मी, चन्द्र केसीलगायत वक्ताहरूले हिमाल एकाडेमीबाट बिदा हुन लागेका विद्यार्थीहरूलाई भविष्यमा उच्च माग भएका दक्ष जनशक्तिका रूपमा स्थापित हुन शुभकामना दिएका थिए।
विद्यार्थी अर्पिता गुप्ताको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा नृत्य, कविता तथा गजल प्रस्तुति समेत गरिएको थियो। कार्यक्रमको अन्त्यमा प्रधानाध्यापक मधुसुदन केसीले धन्यवाद ज्ञापन गरेका थिए भने सहजीकरण शिक्षक भिमलाल मरासिनीले गरेका थिए।
