July 9, 2026

तुलसीपुर २०८२ साल चैत २४ कृष्ण अधिकारी

तुलसीपुरस्थित गुरुजजुर माध्यमिक विद्यालयमा सञ्चालन भइरहेको माध्यमिक शिक्षा परीक्षा एसईई केन्द्रको व्यवस्थापन शैलीलाई लिएर स्थानीय स्तरमा तीव्र असन्तुष्टि देखिएको छ।

विभिन्न विद्यालयका विद्यार्थी सहभागी हुने उक्त केन्द्रमा परीक्षा सञ्चालनका क्रममा समान मापदण्ड लागू नभएको गुनासो बाहिरिएपछि विषयले गम्भीर बहसको रूप लिएको हो।
स्थानीय स्रोत तथा अभिभावकहरूका अनुसार एउटै परीक्षा हलभित्र विद्यार्थीहरूबीच फरक–फरक व्यवहार गरिएको देखिएको छ।

केही विद्यार्थीलाई सहज वातावरणमा परीक्षा दिन दिइएको, निरीक्षणसमेत खुकुलो राखिएको अनुभूति भएको बताइन्छ।

तर, सोही हलमा अन्य विद्यार्थीहरूलाई भने सामान्य रूपमा दायाँ बायाँ फर्किनसमेत नदिने, सानो गतिविधिमा समेत कडाइ गर्दै चेतावनी दिने तथा कतिपय अवस्थामा उत्तरपुस्तिका खोस्ने जस्ता व्यवहार गरिएको गुनासो गरिएको छ।
यस्तो असन्तुलित व्यवहारले परीक्षा केन्द्रको समग्र सञ्चालनप्रति नै प्रश्न उठाउने अवस्था सिर्जना गरेको छ।

एउटै मापदण्डमा सञ्चालन हुनुपर्ने राष्ट्रियस्तरको परीक्षामा फरक–फरक व्यवहार देखिनुले विद्यार्थीहरूबीच अन्याय भएको अनुभूति बढाएको छ।

विशेषगरी मेहनत र तयारीका आधारमा प्रतिस्पर्धा गर्ने विद्यार्थीहरू आफूहरू कमजोर पारिएको महसुस गरिरहेको अभिभावकहरूको भनाइ छ।
शिक्षा क्षेत्रसँग प्रत्यक्ष सरोकार राख्ने व्यक्तिहरूले यस्तो अवस्था दोहोरिनु अत्यन्त संवेदनशील विषय भएको उल्लेख गरेका छन्। उनीहरूका अनुसार परीक्षा केन्द्रमा देखिएको यस्तो ढिलासुस्ती वा असमान व्यवहारले केवल एउटा केन्द्रको विश्वसनीयता मात्र होइन, समग्र परीक्षा प्रणालीप्रतिको विश्वासमा समेत असर पार्न सक्छ।
यसैबीच, सरोकारवालाहरूले सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै घटनाको यथार्थ छानबिन गर्नुपर्ने, आवश्यक परे कडा निगरानी बढाउनुपर्ने र दोषी देखिएमा कानुनी कारबाही गर्नुपर्ने माग गरेका छन्।

आगामी दिनमा यस्ता घटनाहरू दोहोरिन नदिन स्पष्ट कार्यविधि र कडाइका साथ कार्यान्वयन आवश्यक रहेको उनीहरूको जोड छ।
शिक्षा जस्तो संवेदनशील क्षेत्रमा देखिएको यस्तो अवस्थाले निष्पक्षता मात्र होइन, विद्यार्थीहरूको भविष्यसँग जोडिएको भरोसामाथि समेत असर पार्न सक्ने भएकाले सम्बन्धित निकायको तत्काल हस्तक्षेप अपरिहार्य देखिएको छ।

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *