कृष्ण अधिकारी फागुन ९
दाङको तुलसीपुर उपमहानगरपालिका ९ बेलुवास्थित सगरमाथा इंग्लिस बोर्डिङ स्कुलले शनिबार १९औँ वार्षिकोत्सव मनाएको छ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यमकान्त खरेलको अध्यक्षतामा भएको समारोहमा नेपाल संस्कृत विश्वविद्यालयका कुलसचिव माधव अधिकारी प्रमुख अतिथि थिए।
अधिकारीले शिक्षाले मात्र किताबी ज्ञान नभई कार्यकुशलता र चिन्तन विकासमा केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो।
उहाँले भन्नुभयो, ज्ञान र ध्यानलाई आत्मसात् गर्दै व्यावहारिक शिक्षा लागू गर्न आवश्यक छ।

बालबालिकालाई रुचि र आवश्यकता अनुसारको वातावरणमा सिक्न दिनुपर्छ।
तुलसीपुर ३ का वडाअध्यक्ष बिजय बिकले विद्यालयले व्यावहारिक शिक्षा प्रदान गर्दै क्षेत्रकै अब्बल विद्यालयको रुपमा पहिचान बनाएको बताए।
विद्यालय प्रिन्सिपल छबिकुमार वलीले प्रगतिका विवरण प्रस्तुत गर्नुभयो।
विद्यार्थीहरूले नृत्य, गायन र सांस्कृतिक प्रस्तुतिमार्फत आफ्नो प्रतिभा प्रदर्शन गरे भने गायिका रेखा पोखरेलको प्रस्तुति कार्यक्रमको आकर्षक पल बनेको थियो।
स्वागत मन्तव्य भाइस प्रिन्सिपल केशर बुढाथोकीले गर्नुभयो भने सहजीकरण शरद शर्मा मज्गैँयाले गरेका थिए।
विद्यालयले यस अवसरमा आगामी वर्षमा शैक्षिक गुणस्तर र समग्र विकासमा अझ प्रगतिशील कदम चाल्ने प्रतिबद्धता व्यक्त गरेको छ।
