दाङ, ३ फागुन कृष्ण अधिकारी
दाङको तुलसीपुर १० गोलौरीस्थित आचार्यकुलम दाङले आफ्नो दोस्रो वार्षिकोत्सव शनिबार विशेष कार्यक्रमका बीच भव्य रूपमा सम्पन्न गरेको छ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दान बहादुर बुढाथोकीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख खड्काले वर्तमान प्रतिस्पर्धात्मक युगमा केवल आधुनिक शिक्षा मात्र पर्याप्त नहुने बताउँदै संस्कार, योग र नैतिक शिक्षासमेत उत्तिकै आवश्यक रहेको औंल्याउनुभयो।

उहाँले भन्नुभयो, आजको पुस्तालाई प्रविधिमैत्री र प्रतिस्पर्धी बनाउनु जरुरी छ, तर त्यससँगै अनुशासन, संस्कार र आत्मिक विकासलाई पनि सँगसँगै अघि बढाउनुपर्छ।
आचार्यकुलमले यही सन्तुलन कायम गर्ने प्रशंसनीय प्रयास गरेको छ।
कार्यक्रममा योग गुरु पुज्या साध्वी देवकृपा, पतञ्जली योग समिति नेपालका लुम्बिनी प्रदेश प्रभारी प्रेम शाह, आजीवन सदस्य उत्तमकुमार श्रेष्ठ तथा नेपाल संस्कृत विश्वविद्यालय बेलझुण्डीका सहप्राध्यापक नीलप्रसाद सापकोटाले संस्कारसहितको शिक्षा आजको आवश्यकता भएको धारणा व्यक्त गर्नुभयो।
वक्ताहरूले विद्यार्थीलाई केवल किताबी ज्ञानमा सीमित नराखी जीवनोपयोगी, आध्यात्मिक तथा नैतिक शिक्षा दिनुपर्नेमा जोड दिएका थिए।
पतञ्जली योग शिक्षकहरूको समूहबाट सञ्चालनमा आएको विद्यालयमा हाल योग, वैदिक तथा आधुनिक शिक्षा अध्यापन हुँदै आएको छ।
विद्यालयमा २६० जना विद्यार्थी अध्ययनरत छन् भने ३५ जना प्रत्यक्ष रोजगारीमा आबद्ध रहेका छन्।
कार्यक्रममा विद्यार्थीहरूले सांस्कृतिक प्रस्तुति, योग प्रदर्शन तथा विविध सिर्जनात्मक कार्यक्रम प्रस्तुत गरेका थिए।
उपस्थित अभिभावक तथा अतिथिहरूले विद्यालयले छोटो अवधिमै शिक्षाको क्षेत्रमा फरक पहिचान बनाएकोमा प्रशंसा व्यक्त गरेका थिए।
दोस्रो वार्षिकोत्सवको अवसरमा विद्यालयले आगामी दिनमा थप गुणस्तरीय र संस्कारयुक्त शिक्षा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
