आज मिति २०८२ फागुन १ कृष्ण अधिकारी
तुलसीपुर उपमहानगरपालिका १२ स्थित महेन्द्र माध्यमिक विद्यालयको ६४औँ वार्षिक उत्सव विविध कार्यक्रमसहित भव्य रूपमा सम्पन्न भएको छ।
मिति २०८२ माघ २७ गतेदेखि सुरु भएको उत्सव आज विशेष समारोहका साथ समापन गरिएको हो।
समापन कार्यक्रम वडा नम्बर १२ का वडा अध्यक्ष खुसीराम चौधरीको अध्यक्षता तथा लुम्बिनी प्रदेश सभा सदस्य एवं पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो।

कार्यक्रममा पूर्व विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, पूर्व प्रधानाध्यापकहरू, विभिन्न अक्षयकोषका संस्थापक, पूर्व शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले शिक्षा नै समाज रूपान्तरण र विकासको मुख्य आधार भएको उल्लेख गर्नुभयो।
उहाँले सामुदायिक विद्यालयहरूको सुदृढीकरणमा सबै पक्षको सहकार्य आवश्यक रहेको बताउँदै महेन्द्र माध्यमिक विद्यालयले क्षेत्रीय शिक्षामा पुर्याएको योगदानको प्रशंसा गर्नुभयो।
अध्यक्षता गरिरहेका वडा अध्यक्ष खुसीराम चौधरीले विद्यालयको भौतिक तथा शैक्षिक विकासका लागि वडा कार्यालय सधैं सहयोगी रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।

विद्यालयका सहायक प्रधानाध्यापक पूर्णबहादुर भण्डारीले स्वागत मन्तव्य राख्नुभएको थियो भने प्रधानाध्यापक जीतबहादुर थापाले शैक्षिक तथा आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयको उपलब्धि, चुनौती र भावी योजनाबारे प्रकाश पार्नुभयो।
उहाँले शैक्षिक गुणस्तर सुधार, अनुशासन र अतिरिक्त क्रियाकलापमा विद्यालयले उल्लेखनीय प्रगति हासिल गरेको बताउनुभयो।
वार्षिक उत्सवको अवसरमा विभिन्न विधामा उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो भने अक्षयकोषबाट नगद पुरस्कारसमेत प्रदान गरिएको थियो।
कार्यक्रममा विद्यालयका संस्थापक नारायण प्रसाद रजौरे र ईश्वरी प्रसाद भण्डारीलाई विशेष सम्मान गरिएको थियो।
वर्ष उत्कृष्ट शिक्षकको रूपमा शिक्षक झग्गी रेग्मी र तुलसीमणी चौधरीलाई सम्मान गरिएको थियो।
साथै गत वर्ष अनिवार्य अवकाश प्राप्त गर्नुभएकी शिक्षक शान्ति न्यौपानेलाई प्रशंसापत्र प्रदान गरी सम्मान गरिएको थियो।
६४ वर्षे शैक्षिक इतिहास बोकेको महेन्द्र माध्यमिक विद्यालयले आगामी दिनमा पनि गुणस्तरीय शिक्षासँगै अनुशासित, दक्ष र सक्षम नागरिक उत्पादनमा थप प्रतिबद्ध रहने जनाएको छ।
कार्यक्रमको सहजीकरण शिक्षक गणेश अधिकारीले गर्नुभएको थियो।
