July 10, 2026

आज मिति २०८२ फागुन १ गते कृष्ण अधिकारी
दाङको तुलसीपुर ६ स्थित हिमाल एकेडेमीले आफ्नो २२औँ वार्षिकोत्सव रक्तदानसहित विविध शैक्षिक, सांस्कृतिक तथा सामाजिक कार्यक्रमका साथ भव्य रूपमा सम्पन्न गरेको छ।

दुई दशकभन्दा लामो शैक्षिक यात्रा तय गरेको विद्यालयले वार्षिकोत्सवलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै विशेष उत्सवको रूपमा मनाएको हो।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिनय कुमार मिश्रको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यतामा मुख्य समारोह सम्पन्न भएको थियो। कार्यक्रममा अभिभावक, शिक्षक कर्मचारी, विद्यार्थी तथा विभिन्न क्षेत्रका सरोकारवालाको उल्लेख्य उपस्थिति रहेको थियो।
वार्षिकोत्सवका अवसरमा विद्यार्थीहरूले विभिन्न जातजातिको सांस्कृतिक पहिचान झल्किने नृत्य, गायन योगा तथा नाटक प्रस्तुत गरेका थिए।

साथै चर्चित गायक गोविन्द मधुर आचार्य र प्रेम विवश घर्तीको सांगितिक प्रस्तुतीले समारोहलाई थप आकर्षक बनाएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि नगर प्रमुख टिकाराम खड्काले हिमाल एकेडेमीले यस क्षेत्रको शैक्षिक विकासमा पुर्‍याएको योगदानको प्रशंसा गर्नुभयो।

उहाँले निजी क्षेत्रका विद्यालयहरूले गुणस्तरीय शिक्षा र प्रविधिमैत्री सिकाइमार्फत दक्ष जनशक्ति उत्पादनमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्नुभयो।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिनय कुमार मिश्रले २२ वर्षे शैक्षिक यात्राका आरोह अवरोह स्मरण गर्दै अभिभावकको विश्वास, शिक्षक कर्मचारीको समर्पण र विद्यार्थीहरूको मेहनतकै कारण विद्यालयले निरन्तर प्रगति हासिल गरिरहेको बताउनुभयो।
यसै अवसरमा विद्यालयले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत रक्तदान कार्यक्रम आयोजना गरेको थियो।

उक्त कार्यक्रममा नौ जनाले रक्तदान गरेका थिए।

रक्तदान गर्नेहरूमा पत्रकार कृष्ण अधिकारी, बोधराज ओली, जीवन शर्मा, एलन ओली, महेश चौधरी, बमबहादुर घर्ती, दिल्ली बुढाथोकी, नारायण चौधरी र सुनिल चौधरी रहेका थिए।
विद्यालयका प्रिन्सिपल मधुसुधन केसीले शिक्षक कर्मचारीका लागि उपलब्ध गराइएको सुविधाबारे जानकारी दिनुभयो।

विद्यालयले काजक्रियाका लागि १५ दिन बिदा, सुत्केरी भएका महिला शिक्षकलाई तीन महिना बिदा दिने व्यवस्था गरेको बताउनुभयो।

साथै हिमाल एकेडेमीमा अध्ययन गरेका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने र एकनासको शुल्क प्रणाली लागू गरिएको जानकारी दिनुभयो।
विद्यालयले आगामी दिनमा पनि गुणस्तरीय शिक्षासँगै सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।
कार्यक्रमको सहजीकरण विद्यालयका शिक्षक सनोद थापा र छात्रा मुना बुढाथोकीले गर्नुभएको थियो।

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *