दाङ, १४ माघ कृष्ण अधिकारी
निर्वाचन नजिकिँदै जाँदा दाङ निर्वाचन क्षेत्र नम्बर ३ मा स्वतन्त्र उम्मेदवार यमबहादुर बस्नेत तथा हाम्रो नेपाल हामी नेपाली अभियानसँग जोडिएर सञ्चालन भइरहेको घरदैलो कार्यक्रमलाई लिएर स्थानीयस्तरमा बहस सुरु भएको छ।
चुनावी मौसममा मात्रै सक्रिय हुने उम्मेदवारहरूको भूमिकामाथि जनस्तरबाट प्रश्न उठ्न थालेका हुन्।
स्थानीयवासीका अनुसार वर्षौंदेखि देखिएका समस्या बाटो, खानेपानी, रोजगारी, स्वास्थ्य र सेवासुविधा बारे चुनावबाहेक अन्य समयमा उम्मेदवारहरूको उपस्थिति कम देखिन्छ।
तर निर्वाचन नजिकिँदै जाँदा मत माग्ने उद्देश्यसहित घर–घर पुग्ने क्रम तीव्र हुने गरेको उनीहरूको भनाइ छ।
यही क्रममा उक्त अभियानका केही गतिविधिप्रति पनि ध्यानाकर्षण भएको छ।

बाटोनबाटोमा अटो तथा सवारीसाधन रोकेर माइक्रोफोन प्रयोग गरी प्रचार गरिएको भन्दै सर्वसाधारणले असहज महसुस गरेको बताएका छन्।
सार्वजनिक स्थानमा मतदातालाई प्रभावित पार्ने शैली उपयुक्त हो कि होइन भन्ने प्रश्न उठाइएको छ।
स्थानीयहरूको भनाइमा घरदैलो कार्यक्रम जनताको कुरा सुन्ने माध्यम हुनुपर्छ, दबाब सिर्जना गर्ने होइन।
चुनावी अभियान मर्यादित, शिष्ट र कानुनसम्मत हुनुपर्ने उनीहरूको धारणा छ।
राजनीतिक विश्लेषकहरू भन्छन्, लोकतन्त्रमा उम्मेदवारले मत माग्न पाउने अधिकारसँगै निरन्तर जनसम्पर्क, उत्तरदायित्व र कामप्रतिको प्रतिबद्धता देखिनु आवश्यक हुन्छ।
चुनावी समयमा मात्र देखिने प्रवृत्तिले दीर्घकालीन विश्वास निर्माण गर्न कठिन हुने उनीहरूको निष्कर्ष दाङ निर्वाचन क्षेत्र नम्बर ३ मा देखिएको यो अवस्थाले चुनावी अभियानको स्वरूप र उम्मेदवारहरूको जिम्मेवारीबारे पुन सोच्नुपर्ने सन्देश दिएको छ।
