हाम्रो तुल्सीपुर डट कम संवाददाता
तुलसीपुर, १२ कार्तिक
तुलसीपुर उपमहानगरपालिका–३ दमारगाउँदेखि डाँडाखुट्टी सडकखण्डमा लत्रिएका बिजुलीका तार र तिरछा विद्युतका पोलका कारण स्थानीयवासी त्रसित भएका छन्।
सम्बन्धित निकायले समयमा ध्यान नदिँदा दैनिक आवतजावत गर्ने सर्वसाधारण मात्र होइन, बालबालिका र सवारीसाधनसमेत जीवनरक्षाको जोखिममा परेका छन्।

तुलसीपुर–दोधरे–चुलुसे–दमारगाउँ–डाँडाखुट्टी हुँदै बल्ले–मखनटाकुरी जोड्ने मुख्य सडकखण्डमा नेपाल विद्युत प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालय, तुलसीपुर वितरण केन्द्रको जिम्मेवारीमा रहेका पोल र तारहरू लामो समयदेखि अव्यवस्थित अवस्थामा छन्।
स्थानीयवासीहरूले पटक–पटक सम्बन्धित निकायमा गुनासो गरे पनि समस्या समाधान हुन सकेको छैन। सडक सतहमा झुन्डिएका तारका कारण सवारीसाधन चलाउन र पैदल हिँड्नसमेत मुस्किल भएको उनीहरूको गुनासो छ।
कतिपय स्थानमा स्थानीयले आफैं काठका टेका लगाएर तार उठाएर बाटो प्रयोग गर्नुपरेको अवस्था छ।
सडकमै तार छुन थालिसकेका छन् बेलाबेलामा स्पार्किङ पनि हुन्छ।
अब यस्तै रहिरह्यो भने कुनै दिन ठुलो दुर्घटना हुनसक्छ एक स्थानीयवासीले बताए।
यस विषयमा नेपाल विद्युत प्राधिकरण, तुलसीपुर वितरण केन्द्रका प्रमुख सुरेश कुमार महतोले तत्काल निरीक्षण गरी तार र पोलको व्यवस्थापन गर्नुपर्ने स्थानीयहरूको माग छ।
उनीहरूले चेतावनी दिएका छन् यदि समयमै ध्यान नदिए ठुलो दुर्घटना वा जनधनको क्षति हुन सक्छ।
