तुलसीपुर, २१ पौष दाङको तुलसीपुरमा पक्राउ परेका जुवाडेहरुको नाम प्रहरीले सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा तुलसीपुर–५ का ४४ बर्षीय गोर्ख बहादुर वली (गौरव), सोहि ठाँउका ५६ बर्षीय मिनराज ओली, ४२ बर्षीय लिला बहादुर वली, ५५ बर्षीय लालबहादुर गुरुङ, ३१ बर्षीय नवीन ओली, ४४ बर्षीय पूर्णबहादुर डाँगी, ४० बर्षीय ओमकार ओली, चितवनको भरतपुर–२१ का ४३ बर्षीय पुष्पराज घिमिरे र रुकुम पश्चिमको सानोभेरी गाउँपालिका–८ का ४१ बर्षीय नरविर वली रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी अनिलसिंह ठकुरीले जानकारी दिनुभयो । हिजो शनिबार दिउँसो तुलसीपुर–५ (ङ) लाइनमा रहेको गौरव वलीको घरमा अवैधरुपमा जुवा तास खेलिरहेको अवस्थामा उनीहरुलाई प्र्रहरीले पक्राउ गरेको थियो । विशेष सूचनाका आधारमा गएको प्र्रहरी टोलीले वलीको घरभित्र जुवाको खालबाट नगद २ लाख ५२ हजार ६५ रुपैयाँ नगद, १०२ पत्ता तास र नखोलेको नयाँ १ गड्डी ताससहित उनीहरुलाई पक्राउ गरेको डीएसपी ठकुरीले बताउनुभयो । पक्राउ परेका मध्य अधिकांस व्यापारीहरु रहेका छन् । उनीहरुमाथी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
