विराटनगर, ४ माघ।
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ्गले पदबाट राजीनामा दिएका छन्। सुनसरी क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने घोषणा गरेसँगै उनले आइतबार बसेको उपमहानगरपालिकाको कार्यपालिका बैठकमा उपमेयर अइन्द्रबिक्रम बेघालाई औपचारिक रूपमा राजीनामा बुझाएका हुन्।
साम्पाङ्ग श्रम संस्कृति पार्टीका अध्यक्षसमेत हुन्। स्थानीय तहबाट संघीय राजनीतिमा प्रवेश गर्ने निर्णयसँगै उनले मेयर पद त्यागेका हुन्।
आइतबारकै बैठकमा धरान उपमहानगरपालिका–१७ का वडाध्यक्ष सूर्यबहादुर भट्टराईले पनि पदबाट राजीनामा दिएका छन्। भट्टराईलाई नेकपाले सुनसरी क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको छ।
एकै दिन मेयर र वडाध्यक्षले राजीनामा दिएपछि धरानको स्थानीय राजनीति तरंगित बनेको छ भने सुनसरी क्षेत्र नम्बर १ को निर्वाचन थप रोचक बन्ने देखिएको छ।
