कृष्ण अधिकारी दाङ, १ माघ
आज माघे सक्रान्ति पर्व दाङसहित देशभर विभिन्न समुदायले हर्षोल्लासका साथ मनाउँदै छन् ।
चाकु, तरुल र तिलको लड्डुजस्ता पोषिला खानेकुरा खाएर माघे सक्रान्ति पर्व मनाउने चलन रहिआएको छ ।
माघे सक्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशीमा प्रवेश गरी उत्तरायण हुने भएकाले यस पर्वलाई मकर संक्रान्ति पनि भनिन्छ । आजको दिन पवित्र नदी, तलाउ तथा त्रिवेणीमा स्नान गरी पूजा आजासँगै पोषिला खानेकुरा खाएर यो पर्व मनाउने गरिन्छ ।
थारु समुदायमा माघे सक्रान्तिलाई विशेष महत्वका साथ ‘माघी’ पर्वका रूपमा मनाउने चलन छ ।
दाङसहित पश्चिम नेपालका बाँके, बर्दिया, कैलाली, कञ्चनपुरलगायतका जिल्लामा बसोबास गर्ने थारु समुदायले माघी पर्व पाँच दिनसम्म विशेष रूपमा मनाउने गर्छन् ।
आज तिल, चाकु र तरुलजस्ता खानेकुरा खानाले शरीरमा तापक्रम बढ्ने र जाडो हट्ने मान्यता रहेको छ ।

यस दिन मासको दाल र चामल मिसाइएको खिचडीलाई माघी पर्वको विशेष परिकारका रूपमा खाने चलन छ ।
माघी पर्वका अवसरमा नाचिने विशेष घौटा नाच र धमार गीत गाउने परम्परा निकै लोकप्रिय छ ।
यस दिनलाई थारु समुदायले नयाँ आर्थिक वर्षको सुरुवातका रूपमा मान्ने गरेका छन् ।
साथै, विशेष घरसल्लाह गर्ने, समुदायको अगुवा छनोट गर्ने तथा विभिन्न सामाजिक निर्णय लिने दिनको रूपमा पनि माघी पर्वलाई लिने गरिन्छ ।
माघी पर्वले थारु समुदायको सांस्कृतिक पहिचान जोगाउँदै सामाजिक एकता र परम्पराको संरक्षणमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।
