कृष्ण अधिकारी
तुलसीपुर, दाङ ।
दशैँ, तिहार र छठजस्ता नेपालीका मौलिक चाडपर्वलाई अवसर बनाएर नेशनल प्याब्सन दाङले सोमबार तुलसीपुरमा भव्य शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम नेशनल प्याब्सन दाङका अध्यक्ष भोजराज न्यौपानेको अध्यक्षता तथा केन्द्रीय सदस्य बिमल गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
कार्यक्रममा वक्ताहरूले चाडपर्वहरू सामाजिक एकता, सहिष्णुता र आपसी भाइचाराको सन्देश बोकेको उल्लेख गर्दै, यस्ता चाडबाडले समाजमा देखिएको टाढापन हटाएर समृद्ध र सकारात्मक सोच विकास गर्न सहयोग गर्ने धारणा राखेका थिए।

प्रमुख अतिथि बिमल गौतमले चाडपर्वले सांस्कृतिक सम्पदाको संरक्षण मात्र होइन, सहयोग र सहकार्यको भावना प्रवर्द्धन गर्ने उल्लेख गर्दै शिक्षा क्षेत्रका संघसंस्थाहरू सामाजिक उत्तरदायित्वप्रति पनि जिम्मेवार हुनुपर्ने धारणा व्यक्त गर्नुभयो।
अध्यक्ष न्यौपानेले प्याब्सन दाङले शैक्षिक कार्यक्रमसँगै सामाजिक सद्भाव र सहकार्य प्रवर्द्धन गर्ने खालका गतिविधिहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो। उहाँले प्याब्सन दाङले शिक्षा र समाजबीच सेतुको काम गर्दै आएको उल्लेख गर्नुभयो।
कार्यक्रमको सुरुआत शारदा विद्यापीठकी प्रधानाध्यापक इन्दिरा शर्माको स्वागत मन्तव्यबाट भएको थियो। कार्यक्रममा केन्द्रीय सदस्य भीमबहादुर बुढाथोकी, नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष ओपेन्द्र बस्नेत, रेडियो हाम्रो पहुँचका स्टेशन म्यानेजर बसन्त पौडेल, पत्रकारहरु दीपक बोहरा, आशिष केसी, किरण लामिछाने, कृष्ण अधिकारीलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
कार्यक्रमको कुशल सहजीकरण कुलदीप गौतमले गर्नुभएको थियो।
नेशनल प्याब्सन दाङले प्रत्येक वर्ष चाडपर्वलाई शिक्षा र समाज जोड्ने अवसरको रूपमा उपयोग गर्दै सामाजिक चेतना अभिवृद्धि गर्ने उद्देश्यले यस्ता कार्यक्रम आयोजना गर्दै आएको छ।
