रामप्रसाद सुवेदी / हापुरे भदौं २८ गते ।
देशभर चलेको जेन्जी आन्दोलनका क्रममा केही दिनअघि भएको आगलागीबाट व्यापक क्षति पुगेको दाङको बबई गाउँपालिका र वडा कार्यालयहरुमा सरसफाई गरिएको छ। आगलागीका कारण गाउँपालिकाको प्रशासनिक भवन, बहुउद्देश्यीय सभाहल तथा कार्यालयका अधिकांश शाखाहरू जलेर पूर्ण रूपमा नष्ट भएका छन्। त्यस्तै, कार्यालयमा रहेका पाँचवटा मोटरसाइकल, एउटा स्कुटर जलेर नष्ट भएका छन् भने ल्यापटप, कम्प्युटर, प्रिन्टर लगायतका विभिन्न इलेक्ट्रोनिक सामग्रीहरू तोडफोड र चोरी समेत भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जोखिम ओलीले जानकारी दिनुभयो।
यसैगरी आगलागीबाट वडा नम्बर ४ र ५ का वडा कार्यालयहरुमा समेत गम्भीर क्षति पुगेको छ। वडा कार्यालयको भवनसँगै त्यहाँ रहेका विभिन्न कागजात, फर्निचर तथा अभिलेख जलेर नष्ट भएका छन्। यसबाट आगामी दिनमा वडा कार्यालय मार्फत हुने सेवाप्रवाहमा समस्या उत्पन्न हुने देखिएको छ। आगलागी पछिको अवस्थालाई व्यवस्थित बनाउन शनिबार गाउँपालिकाको प्रशासनिक भवन र वडा कार्यालय परिसरमा सामुहिक सरसफाई गरिएको हो।

वडा कार्यालय सरसफाई गर्न नजिका स्थानीयवासी र कर्मचारीहरूको उपस्थिति रहेको थियो। साथै, बबई गाउँपालिकामा सरसफाइको लागि पालिका र पालिका मातहतका कार्यालयमा कार्यरत कर्मचारीहरू, इलाका प्रहरी कार्यालय खिलतपुरका प्रमुख प्रहरी निरीक्षक खिमबहादुर खड्काको नेतृत्वमा खटिएको प्रहरी टोली र इलाका प्रहरी कार्यालय हापुरेका प्रमुख वरिष्ठ प्रहरी नायब निरीक्षक देवबहादुर केसीको कमाण्डमा खटिएको प्रहरी टोलीकाे समेत सक्रिय सहभागिता रहेको थियाे ।

सामूहिक सरसफाईले क्षतिग्रस्त भवन र आसपासका क्षेत्रलाई केही हदसम्म व्यवस्थित बनाउन सहयोग पुगेको बताउदै प्रमुख प्रशासकीय अधिकृत ओलीले विषम परिस्थितिमा प्रहरी र गाउँपालिकाका कर्मचारीहरू एकजुट भएर सहयोग गरेको प्रति आभार प्रकट गर्नुभयो। साथै, उहाँले माथिल्लो निकायको निर्देशन अनुसार हाल उपलब्ध स्रोत–साधनबाट नै गाउँपालिका र वडा कार्यालयहरु मार्फत आवश्यक सेवा दिन आफूहरू तयार रहेको समेत स्पष्ट पार्नुभयो ।
