नेकपा (माओवादी केन्द्र) दाङमा पछिल्ला दिनमा विवाद चर्किँदै गएको छ । सामाजिक सञ्जाल हुँदै नेताहरूबीच आरोप–प्रत्यारोप सुरु भएको छ । यही सन्दर्भमा प्रेस सेन्टर नेपाल तुलसीपुर नगर अध्यक्ष टेकराज भण्डारीले आफ्नो धारणा सार्वजनिक गरेका छन्। प्रस्तुत छ भण्डारीको धारणा :

पार्टीभित्र अहिले विभिन्न दृष्टिकोणका बहस–छलफलहरू भइरहेका छन्। हाम्रो उद्देश्य भनेको दाङ जिल्लामा रहेका तीनवटै प्रतिनिधि क्षेत्र — देउखुरी, घोराही र तुलसीपुर — को सन्तुलित प्रतिनिधित्व, नेतृत्व विकास र कार्यकर्ताको मनोविज्ञानलाई समेटेर संगठनलाई सबल बनाउनु हो। तर पछिल्ला गतिविधिहरूले संगठनात्मक सन्तुलन भत्काउने खतरा देखिएको छ।

जिल्ला सचिव कमरेड विश्व आचार्यले पछिल्लो समय विभिन्न नेताहरूको नाम तोकी–तोकी आरोप लगाउने र भ्रम सिर्जना गर्ने कार्य गर्नुभएको छ। यस्तो प्रवृत्ति पार्टीभित्र अनुशासनविपरीत र घातक हो। संगठन निर्माण गर्ने साझा एजेन्डामा छलफल गर्नुपर्ने बेलामा यस्ता व्यवहारले एकता र विश्वासमा आँच पुर्याउँछ। हामीले बारम्बार भन्दै आएका छौं । दाङमा आएर समस्याको समाधान गर्न नसकेर, काठमाडौँ जानुभएको छ हाम्रो इन्चार्ज ज्यू, उहाँले के गर्न चाहनुभएको छ त्यो हामीलाई थाहा छैन।

अझ गम्भीर कुरा त के हो भने, जिल्ला इन्चार्जज्यू स्वयं एमालेतिर झुक्ने, अखिल (क्रान्तिकारी) लाई विश्वविद्यालयमा समाप्त पार्नेतिर लाग्ने, पार्टीका भातृ संगठनहरूलाई विघटनतर्फ धकेल्ने प्रयासमा लाग्नुभएको छ। पार्टी विधानको अवहेलना गर्दै संगठनलाई दुई भाइ मिलेर सञ्चालन गर्ने निजी कम्पनीमा परिणत गर्न खोजिएको छ, जुन अत्यन्तै दुर्भाग्यपूर्ण र आपत्तिजनक छ।
आज पार्टी किन पार्टीजस्तो नभई निजी संस्थाजस्तो देखिन थालेको छ? हामीले यही विषयलाई उठाएका हौँ। पार्टीलाई संस्थागत बनाउन, नेता–कार्यकर्तालाई जनताप्रति उत्तरदायी बनाउने र विधिको पालना गराउने प्रयासलाई हामीले निरन्तरता दिँदै आएका छौँ। तर जब कार्यकर्ताहरूले इन्चार्ज र सचिवको विकल्पको विषय उठाउन थाले, तब उहाँहरू आफैँ आत्तिनुभएको देखिन्छ।
नेकपा (माओवादी केन्द्र) को इतिहास त्याग, तपस्या र बलिदानको हो। यस गौरवशाली इतिहासलाई सम्मान गर्दै संगठन निर्माणमा समर्पित हुन आवश्यक छ। आज नेतृत्वमा रहेका व्यक्तिहरूले आत्ममूल्यांकन गर्न जरुरी छ — किन पार्टीभित्र यति धेरै असन्तुष्टि चुलिएको छ? किन कार्यकर्ताहरू विकल्प खोज्न बाध्य भएका छन्?
हामी निरन्तर भन्दै आएका छौँ — पार्टीको आन्तरिक जीवन सुदृढ गर्न आवश्यक छ। अहिले नीति र विधिभन्दा नेता प्रधान हुने प्रवृत्ति हावी छ। यसलाई उल्ट्याएर विधि र संस्था प्रधान हुने संस्कार बसाल्न जरुरी छ। समिति–संस्था नै पार्टीको मेरुदण्ड हो भन्ने मान्यता स्थापित गर्नुपर्छ।
अब नेकपा (माओवादी केन्द्र) दाङ जिल्लामा पूर्ण संरचना निर्माण गरी पार्टी र भातृ संगठनहरूलाई संगठित र सबल बनाउँदै अघि बढ्नुको विकल्प छैन। यही बाटो हाम्रो साझा भविष्यको आधार बन्न सक्छ।
