July 16, 2026

Oplus_131072

दाङ, १६ चैत / तल्लो बाटो भनिने अवैध मार्ग हुँदै अमेरिका प्रवेश गर्न झन्डै डेढ वर्ष लामो प्रयास चलिरहेकै बेला शान्तिनगर गाउँपालिका– ७ बुराडाबरका ३८ वर्षीय पूर्ण बाटैमा अस्ताएका थिए। उनी फागुन २१ मा घानाको राजधानी आक्रामा मृत फेला परेका थिए।

बिरानो मुलुकमा हृदयाघातबाट निधन भएका उनको शव बुधबार काठमाडौं आइपुगे पनि शुक्रबार मात्र घर पुग्यो। सीमठाना घाटमा उनको अन्तिम संस्कार सम्पन्न भएको छ।

ऋणमा फस्दै गएको परिवारको सुखद भविष्यको कल्पना गर्दै अमेरिका हिँडेका पूर्णको बाटैमा निधन भएको हो।

डाँगी परिवारमाथि परेको यो बज्रपातको खबर त्यस्तो बेलामा आएको थियो, जति बेला पूर्णका १६ वर्षीय छोरा एसइईको धमाधममा थिए।

खबर सुन्नासाथ पूर्णबहादुरकी ३३ वर्षीया श्रीमती डिला खड्का डाँगी, स्नातक तहमा अध्ययनरत छोरी र छोरासहितको परिवारसँगै, सिंगो गाउँ शोकमा डुब्यो। घानामा ज्यान गुमाएका पूर्णको शव नेपाल ल्याउन आफन्तहरुले हारगुहार गर्न थाले।

बुधबार पूर्णको शव नेपाल आइपुग्दा छोराको परीक्षा चलिरहेको थियो। शुक्रबार बिहान उनका छोराले अन्तिम परीक्षा सकिँदै गर्दा पूर्णको शव दाङ ल्याइपुर्‍याइएको थियो। काठमाडौं ल्याएर शिक्षण अस्पतालमा राखिएको उनको शव छोराको परीक्षा सकिएपछि मात्रै घर ल्याउने योजना रहेको परिवारका सदस्य टोपेन्द्र डाँगीले जानकारी दिए।

पूर्ण पहिले झन्डै ११ वर्ष मलेसिया बसेका थिए। त्यसबीच उनी घर आउजाउ गरिरहन्थे। मलेसियामा उनी ठूला गाडी चलाउन काम गर्थे। मासिक दुई लाख रूपैयाँभन्दा बढी कमाइ हुन्थ्यो।

दाजुभाइको छुट्टीभिन्न भएपछि पूर्ण आठ वर्षअघि आफ्नो परिवारसहित तुलसीपुर बजार नजिकै बस्न थालेका थिए। गाउँको जमिन बेचेर र मलेसियाको कमाइबाट उनले तुलसीपुर उपमहानगरपालिका– ८ दोघरेमा पाँच मिटर जग्गा किनेर घर बनाएका थिए।

तीन वर्ष पहिले उनले मलेसियाबाटै एजेन्ट खोजेर अवैध बाटो हुँदै अमेरिका जान खोजेका थिए। ती एजेन्टबारे भने केही थाहा नभएको टोपेन्द्रले बताए।

‘झन्डै ४० लाख खर्च भएको भनेको थियो। एक–डेढ वर्ष अफ्रिकी मुलुकमा घुमाए पनि एजेन्टले पूर्णलाई अमेरिका प्रवेश गराउन सकेन। सबै पैसा स्वाहा भयो,’ दाजु टोपेन्द्रले भने।

भिसाको म्याद सकिएपछि पूर्ण घर फर्किए। झन्डै तीन महिना जति घरै बसे। अमेरिका सपनामा ठूलो पैसा डुबिसकेको थियो। पूर्णले ऋण र डुबेको पैसा उठाउन अमेरिका नगई हुँदैन भन्ने सोचे। अनि अर्को एजेन्टको सम्पर्कमा पुगे।

केही आफन्तसँग फेरि सापटी लिए। घर धितो राखेर बैंकबाट ४० लाख जति ऋण निकाले। अनि करिब डेढ वर्षअघि अमेरिका जाने भन्दै हिँडे। तर एजेन्टले पूर्णलाई अमेरिका छिराउन सकेनन्।

‘पछिल्लो समय अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासन सम्बन्धी कडा नीतिहरू ल्याएका छन्। अवैध मार्गबाट अमेरिका छिर्ने बाटो बन्द भएको थाहा पाएर पूर्णले युरोपियन देश भए पनि जाने कुरा गरेको थियो। नआत्तिन भनिरहेको थियो,’ टोपेन्द्रले भने, ‘ऋण जसरी पनि चुकाउँछु भनेको थियो। तर कहिल्यै फर्केर नआउने गरी गयो।’

टोपेन्द्रका अनुसार पूर्ण कोठामा एक्लै मृत अवस्थामा फेला परेको खबर उनका साथीहरूले दिएका थिए। मृत्युको कारण हृदयघात भनिएको छ।

पूर्णबहादुरको निधनको खबरले डाँगी परिवारलाई बिह्वल बनाइदिएको छ। श्रीमती डिलालाई यसबीच पटक पटक अस्पताल भर्ना गर्नुपरेको थियो। चिकित्सकहरूले उनको मस्तिष्कमा गहिरो आघात परेको बताएका छन्।

पूर्णको निधनपछि परिवारका सदस्यहरूले अभिभावक त गुमाए नै, ऋणको बोझ अझै भारी महसुस भएको परिवारका सदस्य बताउँछन्।

साभार : सेतोपाटी

Facebook Notice for EU! You need to login to view and post FB Comments!

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *