दाङ, १६ माघ ।
लुम्बिनी प्रदेशका कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले केहि सहकारीमा देखिएको बेथितिले सहकारी अभियान प्रभावित नहुने बताउनुभएको छ । उहाँले गलत गर्ने सहकारीको नियमनमा सरकार प्रतिवद्ध रहेको समेत बताउनुभयो ।
दाङको तुलसीपुरमा रहेको हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १७ औँ वार्षिकोत्सव समारोहलाई बुधबार सम्बोधन गर्नुहुँदै मन्त्री पन्थीले हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्थाले उदाहरणिय काम गरेको बताउनुभयो । उहाँले हाम्रो पहुँचले नै सहकारीप्रतिको नकारात्मक धारणा चिरेको बताउनुभयो । उहाँले सहकारीलाई सहि गन्तव्यमा लैजानका लागि शेयर सदस्य पनि चनाखो बन्नुपर्ने बताउनुभयो । उहाँले सहकारीलाई मूल्य र मान्यताभन्दा बाहिर गएर काम नगर्न समेत निर्देशन दिनुभयो ।
उहाँले हाम्रो पहुँच जस्ता सहकारीले बेरोजगारी समस्या समाधानमा राज्यलाई सहयोग गरेको समेत बताउनुभयो । यस्तै लुम्बिनी प्रदेश सहकारी विकास बोर्डका उपाध्यक्ष टिकाराम पोखरेलले हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी अन्य सहकारीका लागि सिकाइको केन्द्र बनेको बताउनुभयो । उहाँले लुम्बिनी प्रदेश सरकारले सहकारीको कार्य सम्पादन मूल्यांकन कार्यविधि तयार पार्न लागेको बताउनुभयो ।
हाम्रो पहुँचले मनायो १७ औँ वार्षिकोत्सव
तुलसीपुरमा रहेको हाम्रो पहुँच बहुद्देश्यीय सहकारी संस्था लिमिटेडले आज १७ औं वार्षिक उत्सब मनाएको छ । संस्थाले रक्तदान लगायतका विभिन्न कार्यक्रम गरेर १७ औँ वार्षिक उत्सव मनाएको हो । संस्थाका अध्यक्ष शुक्रराज भण्डारीको अध्यक्षता तथा लुम्बिनी प्रदेशका कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीकोे प्रमुख आतिथ्यता तथा लुम्बिनी प्रदेश सहकारी विकास बोर्डका उपाध्यक्ष टिकाराम पोखरेलको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो ।

प्रमुख अतिथी पन्थीले सरकारले मुलुकलाई समृद्ध बनाउन तीन खम्बे नीति अवलम्बन गरेको र त्यसको महत्वपूर्ण खम्बाको रुपमा सहकारी क्षेत्र रहेको बताउनुभयो । सरकारले बेलैमा नियमन गर्न नसक्दा मुलुकमा थुप्रै मान्छेहरु सहकारी पीडित बनेका छन् भने करोडौं रुपैयाँ अपचलन भएको मन्त्री पन्थीले बताउनुभयो । अहिले मुलुकमा सहकारीप्रति अविश्वास बढिरहेको बेला हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्थाले सहकारीको मर्म जोगाउँदै नागरिक तहमा देखिएको त्यो अविश्वासलाई चिर्ने काम गरेको भन्दै उहाँले प्रसंसा गर्नुभयो ।
संस्थाका अध्यक्ष भण्डारीले आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरणको लागि समाजका निम्न आय भएका वर्ग तथा समुदायहरुलाई एकतावद्ध गरि सिंगो सामाजिक विकासका लागि केहि गर्ने उद्देश्य राखेर सहकारी आजभन्दा १७ वर्षअघि २०६४ सालमा स्थापना गरिएको बताउनुभयो । नेपालमै सहकारीका माध्यमबाट आर्थिक विकास खोज्न हाम्रो पहुँच बहुउद्देश्यीय सहकारीको स्थापना गरिएको अध्यक्ष भण्डारीले बताउनुभयो । संस्थाले सदस्यहरुलाई सहकारीको माध्यमबाट उद्यमशिल बनाई स्वावलम्बी तथा आत्मनिर्भर बनाउँदै गरिबीको अन्त्य गर्ने अभियानमा लागेको अध्यक्ष भण्डारीले बताउनुभयो । संस्थाले हालसम्म १०७ जनालाई प्रत्यक्ष रुपमा रोजगारी प्रदान गरेको छ भने १ हजार २ सय जनालाई स्वरोजगारी प्रदान गरेको छ ।
आगामी पाँच वर्षपपछि संस्थाको पूँजी बढाएर पाँच हजार जनालाई रोजगारी प्रदान गर्ने लक्ष्य राखेको बताउनुभयो । उहाँले कृषि क्षेत्रमा विउविजनको कार्यक्रम संचालन गर्ने र सदस्यहरुलाई उद्यमशिल बनाउने संस्थाको योजना रहेको बताउनुभयो । संस्थामा हालसम्म चार हजार दुईसय ९५ जना शेयर सदस्य आबद्ध रहेका छन् ।
कार्यक्रममा संस्थाका सल्लाहकार भरत भण्डारीले २५ जना बाट सुरु भएको सहकारीमा अहिले चार हजार बढी सदस्य आवद्ध रहेकोमा खुशी व्यक्त गर्नुभयो । सदस्यहरुको साथ र सहयोगले नै अहिले हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्था देशमै उत्कृष्ट बन्न सफल भएको बताउनुभयो । कार्यक्रममा तुलसीपुर–७ का अध्यक्ष राम बहादुर जसी, तुलसीपुर–६ का अध्यक्ष दुजमान भण्डारी, बाघमारे कृषि सहकारी संस्थाका अध्यक्ष चुडामणी खरेल, जनसेवा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष जीवन भण्डारी, साल्ट ट्रेनिङ कर्पोरेशन घोराहीका प्रमुख रामबाबु प्रसाद गुप्ता, नेपाल पत्रकार महासंघ दाङका शाखाका उपाध्यक्ष ओपेन्द्र बस्नेत लगायतकाले सहकारीमा गरिएको लगानी सुरक्षित गर्न सदस्य पनि चनाखो बन्नुपर्ने बताएका हुन् ।
संस्थाले वार्षिकोत्सवको अवसरमा उत्कृष्ट कर्मचारी, सेवाग्राही, वचतकर्ता, ऋणी, विज्ञापनदातालाई सम्मान गरेको छ । त्यसैगरी रेडियोका स्रोता, उच्च कारोवार गर्ने सेयर सदस्य, अक्षकोषदाता, जेष्ठ नागरिक र उत्कृष्ट किसानलाई सम्मान तथा पुरस्कृत गरेको छ । त्यस अवसरमा हाम्रो पहुँच माविमा अध्ययनरत विद्यार्थीले विज्ञान सामग्री प्रर्दशनी गरेका छन् भने विद्यार्थीले विभिन्न व्यवसाय समेत संचालन गरेका थिए । विद्यार्थीले चटपटदेखि चाउमिन, मम लगायतका व्यापार गरेका छन् । यस्तै गित, नृत्य, लगायतका प्रस्तुत गरिएको छ ।
कार्यक्रमको सहजीकरण संस्थाका प्रमुख कार्यकारी अधिकृत जनक भण्डारी र हाम्रो पहुँच माविका प्रधानाध्यापक डिआर भण्डारी र तालिम तथा सूचना अधिकृत रेखा शर्माले गर्नुभएको हो ॥
