तुलसीपुर १२ भदौ/ दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ स्थित कमलपोखरी फेरि मर्मत गरिने भएको छ । तालमा फेरि पानी सुकेपछि पुनः मर्मत गर्न लागिएको हो । तालको दक्षिण तर्फको पर्खाल नजिकै प्वाल परेपछि त्यही बाट पानी बगेर गएको हो । सुधार तथा मर्मतको काम गर्दै आइरहेको छ।
तुलसीपुर उपमहानगरपालिका – ६ रजौरामा विभिन्न निकायले २ करोडभन्दा बढी खर्चेर निर्माण गरिएको कमलपोखरीमा जति प्रयास गर्दापनि पानी नअडिएपछि त्यसको आलोचना भइरहेको छ । सौन्दर्यकरण र आवश्यक परे विपदमा समेत पानीको प्रयोग गर्ने गरी पूर्व वडाध्यक्ष लम्सालको पालामा यो पोखरी निर्माण सुरू भएको थियो।
यसअघि पनि पोखरी छिर्ने सिँढी नजिकै, बीचमा निर्मित क्रँकिट कमलको फूलको आकृति र उत्तरतर्फको वाल निजकैबाट प्वाल परी त्यहाँबाट पानी बगेर गएको थियो। ती सबै दुलोहरूमा वरिपरि खनेर सिमेन्टको वाल बनाइएको थियो । त्यसपछि निर्माण सुरू भएको ५ वर्ष पछाडि तालमा पहिलो पटक यसै वर्षायाममा केही समय पानी भरिभराउ भएको थियो । तर, फेरि दक्षिण तर्फको वाल नजिकै दुलो परेपछि पानी त्यसैबाट बगेर गएको हो ।
पोखरीमा पानी भरिभराउन हुँदा त्यो अवलोकन गर्न आउने सर्वसाधारणको संख्या थपिँदै गएको थियो। टिकटक बनाउने, भिडियो वा रिल बनाउने तथा ती समाजिक सञ्जालमा राखेर तालको बखानहरू हुँदै आएका थिए । तर, फेरि पानी सुकेपनि मानिसहरू पोखरीमा आउन छाडेका छन् ।
यो पोखरीमा पानी अड्याउन भनेर गत असारमा मात्रै कमलपोखरी सुधार कार्य अन्तर्गत कुल लागत (भ्याट बाहेक) ५९ लाख ७८ हजार ५९२ रूपैयाँ खर्च गरिएको थियो । सुधारको काम गत फागुनदेखि सुरू भइ असार ३ गतेसम्म चलेको थियो । सेतोपाटी
